बालबालिकामा देखिने ज्वरो र त्यसको निदान
ज्वरो के हो ?
ज्वरो आफैँमा रोग होइन । यसले शरीरमा संक्रमण छ भन्ने पुष्टि गर्दछ । ज्वरो आउनुको मतलब हाम्रो शरीर रोग विरुद्ध लड्न सकिरहेको छ भन्ने कुरा बुझिन्छ । केहि अवस्थामा विना संक्रमणपनि ज्वरो आउन सक्दछ ।
बच्चामा देखिने तापक्रममा उतार चढाव
सामान्य शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) हुन्छ । यो तापक्रम विहानको समयमा अझ कम ९६.८ डिग्री फरेनहाइट (३६ डिग्री सेल्सियस) र बेलुकाको समयमा बढ्न सक्ने (१००.३ डिग्री फरेनहाइट / ३७.९ डिग्री सेल्सियस) सम्भावना रहन्छ । शरीरको तापक्रम कहाँ मापन गरिएको छ त्यसमापनि फरक पर्दछ । काखीमा नापिएको तापक्रम मुखको भन्दा कम हुन्छ ।
बच्चाको शरीरको तापक्रम माथि उल्लेखित तापक्रमभन्दा माथि गएपनि बच्चाको गतिविधीमा केहि कमी वा पहिलेको अवस्थाभन्दा केहि फरक नदेखिएमा कुनैपनि हिसाबले डराउनु पर्दैन । तर, विशेषज्ञसँग परामर्श गर्नुपर्ने हुन्छ ।
बच्चामा देखिने ज्वरोका केहि कारणहरु
मुख्यतया बालबालिकामा ज्वरोको भाइरल इन्फेक्सन हो जसमा फ्लु, रेस्पिरेटोरी सिन्सिटियल भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, राइनो भाइरस आदि पर्दछन् । भाइरल इन्फेक्सन सामान्यतया आफैँ निको भएर जान्छ । यसको उपचारमा एण्टिबायोटिक चाँहिदैन । भाइरल इन्फेक्सन बाहेकको कारणमा केहि व्याक्टेरियल इन्फेक्सन, फंगल इन्फेक्सन हुन सक्छ । यस्ता व्याक्टेयरियल इन्फेक्सनको शंका लागेमा मात्र एण्टिबायोटिक दिनुपर्दछ र उक्त कुराको पुष्टि रगतको परिक्षणपछि थाहा पाउन सकिन्छ । रगतको परिक्षण गर्न हतार गर्नु हुँदैन ।
ज्वरो आउँदा डराउनुपर्ने अवस्था
बच्चा तीन महिनाभन्दा कम उमेरको भएमा, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा माथि भएमा, अत्याधिक ज्वरो आइ छारेरोग जस्तै लक्षण देखिएमा डराउनुपर्ने हुनसक्छ । यस्तै सात दित भन्दा बढी निरन्तर ज्वरो आइरहेमा, औषधी खुवाउँदापनि ज्वरो कम नभएमा वा ज्वरो बढ्न नरोकिएमा भने डराउनु पर्दछ । यस्तो अवस्थामा भने विशेषज्ञ डाक्टरलाई देखाउनु पर्दछ ।
ज्वरो आएको बच्चाको स्याहार कसरी गर्ने ?
बच्चाको गतिविधीको अवस्था ख्याल गर्ने, अत्याधिक ज्वरो आउँदा पानीको मात्रा घट्ने हुँदा बच्चालाई बारम्बार इलेक्ट्रोलाइट मिश्रित ओआरएस, सानो नानीहरुलाई आमाको दुध अथवा सादा पानी खुवाउने गर्नु पर्दछ । बच्चाको पिसाबको मात्रामा कमी भएमा, ओठ फाटेको, छाला रुखो र सुख्खापन र आँखा विझाएको कुराहरुमा ध्यान पुर्याउनु पर्दछ ।
सुतेको बच्चालाई जबर्जस्ती उठाएर औषधी तथा अन्य पेय पदार्थहरु नदिने, घरमा ज्वरो घटाउने म्याद ननाघेको औषधी जहिले पनि राख्नु पर्दछ । कुनैपनि अवस्थामा जथाभावी सामान्य ज्वरो आउँदैमा औषधी र डाक्टरको परामर्श बिना एण्टिबायोटिक खुवाउनु हुँदैन । धेरैजसो अवस्थामा बच्चामा देखिने ज्वरोको कारण भाइरल इन्फेक्सन भएको हुँदा सो अवस्थामा आफैँ सामान्यतिर फर्किने हुँदा केहि बच्चामा पाँच दिनदेखि सात दिनसम्म जान सक्छ ।
डाक्टरसँग परामर्श कहिले गर्ने ?
दुई बर्षभन्दा कम उमेरको बच्चालाई निरन्तर २४ घण्टाभन्दा बढी ज्वरो आएमा डाक्टरको परामर्श लिनुपर्दछ । बच्चा अत्याधिक रोएमा, सुस्त भएमा वा बेहोस भएमा तत्काल डाक्टरकोमा लैजानु पर्दछ । ज्वरोले गर्दा शरीरमा पानीको मात्रा घटेको अवस्था देखिएमा र पानी खुवाउन नसकिएमा डाक्टरसँग परामर्श गर्नु पर्दछ । त्यस्तै, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा, एण्टिबायोटिक खाइसक्दापनि ज्वरो निको नभएमा तत्काल डाक्टरसँग परामर्श गर्नु पर्दछ । बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम भएमा, ६ महिनाभन्दा कम उमेरको बालबालिकामा जस्तोसुकै अवस्थामा ज्वरो आएमा पनि विशेषज्ञसँग परामर्श गर्नु पर्दछ ।
नवजात शिशुमा देखिएको ज्वरो
सामान्यतया नवजात शिशुमा ज्वरो आउँदैन । ज्वरो आएमा यसको मुख्य कारण बच्चालाई दुध नपुगेको अवस्था हुन सक्छ । यस बाहेकको अवस्थामा अरु गम्भीर कारण खोजी गर्नुपर्ने हुन्छ । किनभने नवजात शिशुको शरीर रोग विरुद्ध लड्नसक्ने क्षमतामा हुँदैनन् । ज्वरो बाहेकको समस्यामा नवजात शिशुलाई श्वास फेर्न गाह्रो भएमा, घ्यारघ्यार भएमा, नाक, मुख र नङको वरिपरीको छाला निलो भएमा वा कोखा हानेमा सकेसम्म विशेषज्ञ डाक्टरको परामर्श अनुसार जाँच र उपचार प्रक्रिया अगाडी बढाउनु पर्दछ ।
मेरो सुझाव
ज्वरो आउनुको अर्थ बच्चाको शरीर रोग/संक्रमण विरुद्ध लडिरहेको/लड्न सकिरहेको छ भन्ने बुझिन्छ । ज्वरो आएपनि बच्चाको गतिविधीमा केहि फरक छैन भने कुनैपनि कारणले आत्तिनु र डराउनु पर्दैन । ज्वरो आएको अवस्थामा बच्चालाई झोलिलो पदार्थ सकेसम्म साविक भन्दा बढी मात्रामा खुवाउनु पर्दछ । रगतको परिक्षण र अन्य जाँच तीन दिनको ज्वरोपछि मात्र गराउनु पर्दछ । अनावश्यक औषधी जस्तै एण्टिबायोटिक, भिटामिन, फुड सप्लिमेन्ट बिशेषज्ञ डाक्टरको परामर्श बिना खुवाउनु हुँदैन । यदि कुनै सिकिस्त रोगको शंका लागेमा डाक्टरको सल्लाह अनुसार जाँच गराउनु पर्दछ ।
(डा. केशव कुमार मण्डल नवजात शिशु तथा बालरोग बिशेषज्ञको रुपमा बिर्तामोडको कनकाई हस्पिटल, सनसाइन मेडिसिन सेन्टर र झापा नेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ । )