स्ट्रेट अफ हर्मुज खुलेसगै तेलको मूल्यमा भारी गिरावट
एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर ‘स्ट्रेट अफ हर्मुज’ व्यावसायिक जहाजका लागि ‘पूर्ण रूपमा खुला’ गरिएको घोषणा गरेसँगै विश्व तेलबजारमा व्यापक गिरावट आएको छ।
त्यसको केहीबेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत धन्यवाद दिएका थिए। तर, उनले स्थायी शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने पनि बताए।
इरानको घोषणापछि तेलको मूल्य घटेको छ। हर्मुज जलडमरूमध्य विश्वको अत्यन्त महत्वपूर्ण तेल ढुवानी मार्ग भएकाले यहाँ अवरोध हुँदा आपूर्ति प्रभावित भएको थियो भने विश्वभर महँगी र तेल अभाव देखिन थालेको थियो।
इरानको निर्णयले तेलको मूल्य घटेको छ भने सेयर बजार र सरकारी ऋणपत्र (बन्ड) मा उछाल आएको छ। इरानले हर्मुज युद्धविराम अवधिभर खुला रहने घोषणा गरेपछि बजारमा यस्तो सकारात्मक प्रभाव देखिएको हो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘एक्स’मा पोस्ट गर्दै लेबनानसँगको युद्धविरामसँगै हर्मुज हुँदै सबै व्यावसायिक जहाजहरूको आवतजावत पूर्ण रूपमा खुला गरिएको बताएका छन्।
यससँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट क्रूड प्रतिब्यारेल ९ प्रतिशतले घटेर ९० डलरमा झरेको छ भने अमेरिकी कच्चा तेल १० प्रतिशतले घटेर ८१.५ डलरमा पुगेको छ। यद्यपि, यो मूल्य युद्धअघिको स्तरभन्दा अझै माथि नै छ, तर मार्च अन्त्यतिरको करिब १२० डलरको उच्च बिन्दुभन्दा भने उल्लेखनीय रूपमा तल आएको हो।