२०८३ बैशाख ६ गते , आईतबार

डेंगु देखापरेको १९ बर्षपछि नियन्त्रणका लागि कार्ययोजना

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ४ गते , विहीबार
डेंगु देखापरेको १९ बर्षपछि नियन्त्रणका लागि कार्ययोजना

बिर्तामोड । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागु गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।

यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तहरेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. रूद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।

डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनिसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्न े? स्थानीय तहको भूमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं’, मरासिनीले भने, ‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरू काठमाडौं ललितपुर, भक्तपुर, चितवन र मकवानपुरका सरोकारवालाहरूसँग बसेर कार्यक्रम गरिसकेका छौं ।

 

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए। उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे ।

उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।

मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए ।  सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरूको नष्ट गर्नुघर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए ।

लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको उनको भनाइ छ ।

लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए । उनले मनसुन बढेसँगै डेंगुका बिरामीको संख्या बढेको बताए ।

प्रदेश र संघ सरकारबीच समन्वय राम्रो छ। उहाँहरूसँग हामीले छलफल गरिरहेका छौं । स्थानीय तह त्यसमा पनि जोखिम बढी भएका स्थानीय तहहरूसँग हामीले समन्वय गरेका छौं । यद्यपि यसको गम्भिरताका बारेमा सबै स्थानीय तहका जिम्मेवार अधिकारीहरूमा जानकारी नभएको हुनसक्छ। हामी सबैको प्राथमिकता के हो भने डेंगु सार्ने लामखुट्टेको वृत्तिविकास सङ्लो पानीमा हुन्छ ।

थोरै पानी जम्यो भने पनि त्यसमा लामखुट्टेले अण्डा पारेर लामखुट्टे बढ्छ। त्यसकारण प्रत्यक दिन हाम्रो घर आँगन, कार्यालय वरिपरि घुमेर पानी जमेको ठाउँ कतै छ भने पानी भएको ठाउँ नष्ट गर्नुपर्छ ।उनले थपे ।

डेँगु बर्षायामको शुरुसँगै बढ्ने किटजन्य रोग हो। एडिस एजिप्टाई÷एल्बोपिक्टर्स जातको संक्रमित  लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको अवस्था देखिन्छ । गत वर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगु संक्रमण देखिएको थियो। गत जुलाई १५ सम्म करिव तीन हजार केस रिपोर्टिङ भइसकेको छ ।

डा मरासिनीले डेंगु रोकथाममा सरकार गम्भीर भएर लागेको बताए । लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना र्पुयाउनुपर्ने बताए । डेंगु सरूवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने बताए। उनले अस्पतालहरू पनि सतर्क र सुदृढ हुन जरूरी रहेको बताए ।

डेंगु रोकथाम नै नभएको भन्ने त होइन। यो सरूवा रोग हो। हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ । अपेक्षाकृत रूपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो। अस्पतालहरू पनि सुदृढ हुन जरूरी छ ।

डेंगुको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरू सचेत हुनुहुन्न, डेंगु बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ ? र लामखुट्टेलाई कसरी हामीहरूले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरूको सचेतना पुग्दैन। तबसम्म नियन्त्रणको काम जटिल हुन्छ,’ उनले भने ।

सम्बन्धित समाचार