पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार र मेरो अनुभूति
मैले २०६० सालमा सामुदायिक विद्यालयमा शिक्षकको रुपमाप्रवेश गरेर थुप्रै अनुभव हासिल गरिसकेकी थिएँ । जुन दिनदेखि म शिक्षक बनें, मलाई यो पेशा नै दुनियाँको सबैभन्दा उत्कृष्ट पेशा हो भन्ने लागेको छ । २०७६ सालसम्मको १६ वर्षे शिक्षणकाल पुरा गरिसक्दापनि मैले पी.पी.प्रसाई फाउण्डेसनको बारेमा सुनेकी थिइन । २०७६ साल वैशाखमा इलाम जिल्लाकोे सिद्धेश्वरी आधारभूत विद्यालयबाट झापा जिल्लास्थित आदर्श माध्यमिक विद्यालयमा सरुवा लिई आएँ । जब म आदर्श माविमा हाजिर भएँ सो विद्यालयको कार्यालय कक्षमा दुईवटा फोटोहरुमा मेरो आँखा पर्यो, उक्त फोटोहरुमा पीपी प्रसाई क्षेत्रीय उत्कृष्ट शिक्षक पुरस्कार लेखिएको थियो । मलाई यो पुरस्कार बारेमा बुझ्ने इच्छा लाग्यो र तत्कालिक प्रधानाध्यापक आदरणीय हेमकुमार खड्कासँग जिज्ञासा राखें । उहाँले यो पुरस्कारको बारेमा बताउनु भयो साथै उहाँले र गीता मेडमले यस विद्यालयबाट उक्त पुरस्कार प्राप्त गरिसकेको जानकारी गराउनुभयो । यसपछि मलाई यस संस्थाको बारेमा जिज्ञासा बढ्यो र थपअध्ययन गरें, सोधखोज गरें ।
पीपी प्रसाई फाउण्डेसन २०५६ भदौ २० गते (५सेप्टेम्बर १९९९) मा हवाई दुर्घटनामा दिवङ्गत स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्झना र सम्मानमा स्थापित संस्था रहेछ । यो संस्था पर्यटन व्यवसायी प्रजापति प्रसाईको शिक्षा र पर्यटनलाई ग्रामीण क्षेत्रसम्म विकास गर्ने इच्छालाई पूर्णता दिनको लागि २०६७ सालमा स्थापना गरिएको रहेछ । यो संस्थाले प्रत्येक वर्ष एकजना पर्यटन व्यवसायमा योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने गरेको रहेछ । त्यसैगरी विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराई विपन्न विद्यार्थीहरुको अध्ययनमा सहयोग पुर्याउने गरेको रहेछ भने एकजना राष्ट्रिय उत्कृष्ट शिक्षक एवम् प्रत्येक प्रदेशबाट एक–एक गरी सात जना क्षेत्रीय उत्कृष्ट शिक्षक छनौट गरी पुुरस्कृत गर्ने गरेको रहेछ ।
यो प्रतिष्ठानले देशभरबाट आवेदनमाग गरी शिक्षकको पढाउने शैली, बालमनोविज्ञान, विद्यार्थीको आवश्यकता, समुदायसँगको सम्बन्ध, शिक्षाप्रति शिक्षकको धारणा, विद्यालय व्यवस्थापन समितिको सिफारिस आदिका आधारमा निर्णायक टोलीले आवेदनहरु माथि छलफल गरी टेलिअन्तरवार्ता गरी उत्कृष्ट राष्ट्रिय शिक्षक एक जना र प्रत्येक प्रदेशबाट एक–एक जना गरी जम्मा आठ जना क्षेत्रीय उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गर्दो रहेछ । यो क्रममा राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार नगद एक लाख र प्रदेश स्तरीय पुरस्कार पचास हजार रुपैँयासाथै विद्यालयहरुलाई दश हजार रुपैँया बराबरको शैक्षिक सामग्री समेत प्रदान गरिँदो रहेछ ।
माथिको तथ्यहरु थाहा पाइसकेपछि मलाई पनि यो पुरस्कारको निम्ति भित्रैबाट लोभ जाग्यो, आखिर आपूmले जानेकै विद्यार्थीसँग रमाउनु हो । उनीहरुको मनोभाव बुझेर सिकाइ क्रियाकलाप अघि बढाउनु हो । शिक्षण क्रियाकलापको मुल्याङ्कन कै आधारमा मैले भेषराज पवित्रा उत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गरिसकेकी थिएँ । अतःमैले आपूmलाई यो पुरस्कारको निम्ति कागजात पेश गरें ।
नवौं पीपी प्रसाई क्षेत्रीय उत्कृष्ट पुरस्कार प्रदेश नम्बर १ बाट मैले प्राप्त गर्ने क्रममा मैले गतवर्ष नै आवेदन दिएकी थिएँ तर कोभिडको कारणले उक्त पुरस्कार दुई वर्ष वितरण हुन सकेन, स्थगित रह्यो । पुनः जब मैले त्यहाँ भएका दश वटा प्रश्नहरुको उत्तर लेखें, आवश्यक कागजातहरु तयार गरें र इमेल पठाएँ । मैले इमेल पठाएको भोलिपल्ट मलाई फाउण्डेशनबाट फोन आयो । करिब १०÷१५ दिनपछि पुनःकल आयो । जुन समयमा म स्तनक्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा केमोथेरापी लिइरहेकी थिएँ । मलाई अपुग कागजात पठाइदिन भन्नुभयो । मैले केमियोथेरापी गरेको पाँचदिनमा झापा फर्केर उक्त कागज विद्यालयमा बनाएर इमेल गरें । फेरि बाइस दिनमा लगाउनु पर्ने केमोको लागि काठमाडौं गएँ र तीन दिनमा फर्कें । यो मेरो अन्तिम पटकको केमोथेरापी थियो र चिकित्सकले मलाई अब एक महिनाको आरामपछि रेडियोथेरापी सुरु गर्ने सल्लाहदिनु भएको थियो । म घरमा आराम गरिरहेको समयमा फाउण्डेसनबाट फेरि फोन आयो र बालक्लबको सिफारिस पत्रअपुग रहेछ पठाइदिनु भन्नुभयो, मैले सो पत्रपनि पठाएँ ।
मेरो रेडियोथेरापी साउन ३० गतेबाट सुरु हुने जानकारी हस्पिटलबाट आएकोले म साउन २९ गते काठमाडौं गएँ । रेडियोथेरापीको क्रममा नै भदौ ८ गते मलाई फाउण्डेसनबाट फोन आयो र मसँग केही जानकारी लिन खोज्दै हुनुहुन्थ्यो । तर मैले आपूm उपचारको क्रममा रहेकोले अहिले बोल्न असमर्थ रहेको जानकारी गराएँ । सोहीदिन करिब चार बजेतिर पुनःफाउण्डेसनबाट फोन आयो र तपाई अन्तरवार्ताको लागि छनौट हुनुभएको छ भन्नु भयो । कुन समय उपयुक्त होला कुरा गर्न भनी सोध्नुभयो । मैले शुक्रबार र शनिबार अस्पताल जानु नपर्ने जानकारी गराएँ । उहाँले शुक्रबार १२ बजेदेखि २ बजेभित्र सम्पर्कमा रहने गरी बस्नुहोला भन्नुभयो । जतिबेला म प्रत्येकदिन रेडियोथेरापीको निम्ति अस्पताल जानु पर्थ्यो । म शुक्रबार र शनिबारको प्रतिक्षामा रहें । करिब १२ः३० तिर फोन आयो र मेरो अन्तरवार्ता भयो ।अन्तिम नतिजाको निम्ति आइतबारसम्म पर्खनुपर्छ भन्नुभयो तर सोहीदिन फोन गरेर म छनौटमा परेको जानकारी गराउनु भयो साथै १९ गते कुपण्डोल स्थित कार्यालयमा १० बजे सम्पर्कमा आउनु र २० गते कार्यक्रमको लागि निमन्त्रणापत्र आउँछ भन्नुभयो । मलाई यो समयमा यति धेरै खुसी मिल्यो कि मैले गएर हजुरबुवा र सानिमालाई सुनाइहालें अनिश्रीमान् र नानीहरुलाई पनि सुनाएँ । त्यो बेला यस्तो लाग्यो कि मेरो उपचारको लागि अब रेडियोथेरापी नै गर्नु पर्दैन, मेरो खुसीसँगै प्राप्तभएको उर्जाले म पुरै स्वस्थ्य भै सकें भन्ने महसुस भयो । अब म २० गतेको प्रतिक्षामा रहें । मैले विद्यालयको युनिफर्मको व्यवस्थापन गरें ।
भदौ १९ गते १० बजे कुपण्डोल स्थितकार्यालयमा पुग्नु थियो । अङ्कलआन्टीले मलाई ९ः३० मा नै कुपण्डोल पुर्याइदिनु भयो । म अफिसमा गएर बसिरहें अरु कोहिपनि आइपुग्नु भएको थिएन । फुर्सदको उपयोग चियापिएर गरौं भनी म चिया पसलतिर लागें । चियाखाँदै गर्दा विद्यालयका प्रअ कृष्ण पुरीलाई फोन गरेर पुरस्कृत हुँदै गरेको कुरा सुनाएँ । उहाँपनि खुसी हुनुभयो, यस्तो बिरामी अवस्थामापनि यति ठूलो उपलब्धि प्राप्त गरेकोमा बधाई दिँदैं यो पुरस्कार विद्यालयको सम्मानसँग जोडिएको कुरा बताउनु भयो । मैले चिया खाएर निस्कँदा उर्मिला मेडम आइसक्नु भएको रहेछ । उहाँले मलाई अफिसमा नदेखेर फोन गर्नुभयो । अफिसमा अरु विजेता सर मेडमहरु आउनु भएको रहेछ । हामीले त्यहाँ पीपी फाउन्डेसनका अध्यक्ष शिखर प्रसाई र उहाँकी धर्मपत्नीसँग परिचय गर्यौं । केही समय त्यहाँ बिताएर उर्मिला मेडमले हामीलाई अर्को स्थानमा लैजानु भयो । त्यहाँ हामीले आदरणीय गुरु धनञ्जय शर्मा र शिखा प्रसाईसँग करिब चार घण्टा अन्तरक्रिया गर्यौं, खानाखायौं र भोलि २ बजे कार्यक्रममा भेट्ने गरी विदा भयौं । मलाई उर्मिला मेडमले यातायातका ेव्यवस्थापन गरि दिनु भयो, म सिधै भक्तपुर क्यान्सर अस्पताल गएँ र रेडिएसन गराएँ । घर फर्किदा ८ बजिसकेको थियो ।
भदौ २० गते बिहानैदेखि मनमा कस्तो कस्तो महसुस भइरहेको थियो । एकातिर प्रशन्नता थियो प्रदेश नम्बर १ बाट उत्कृष्ट शिक्षकको रुपमा छनौट भई पुरस्कृत हुँदै थिएँ भने अर्कोतिर केमियोथेरापीको कारणले गर्दा टाउकोको केश र आँखीभौं समेत झरेर विरुप भएको अवस्थामा धेरै मानिसहरुको अगाडि कसरी जाने होला भनेर अप्ठ्यारो लागिरहेको थियो । ६÷७ महिनादेखि बिमारीको कारणले धेरै समय बेडमा नै बिताइरहेकोले एकै चोटी जमघटमा जानु पर्दा अप्ठ्यारो लाग्नु स्वभाविक नै थियो तथापि मलाई जानु नै थियो । २ बजे हामी कार्यक्रम स्थल मल्ल होटल लैनचौर पुग्यौं । कार्यक्रम सुरु हुने तयारीमा थियो । हामी पुगेकोे केहिक्षण मै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको आगमन सँगै कार्यक्रम सुरु भयो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । मेरो साथमा सविता आन्टी र उषा माइजू हुनुहुन्थ्यो भने मात्रिका दाइ र कुन्ता दिदीपनि आउने कुरा थियो । उहाँहरु आउन केहि ढिलो भएछ । कार्यक्रम सकिएपछि मात्र भेट भयो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यको अनुभव सुन्ने अवसर मिल्यो । पुरस्कृत शिक्षकहरु मध्ये सुरुमै मेरो नाम घोषणा भयो । सो समय मेरो शिक्षण जीवनकोे अति महत्वपूर्ण क्षण् ाथियो र जीवनको ठूलो उपलब्धि थियो । पुरस्कृत शिक्षकहरुलाई पुरस्कार र सम्मानपश्चात आप्mनो अनुभूति प्रस्तुत गर्ने अवसर पनि मलाई प्रदान गर्नुभयो । यसै पनि आप्mनो कामको सूक्ष्म रुपमा मूल्याङ्कन भएर राष्ट्रिय स्तरको पुरस्कार र क्यान्सर जस्तो जटिल रोगसँग लडिरहेको अवस्थामा मैले बोल्ने क्रमम ानिकै भावुक भएछु जस्ले गर्दा कार्यक्रम कै माहोल भावुक बनेको थियो ।
अतः पीपी प्रसाई फाउण्डेशनद्धारा प्राप्त यो पुरस्कारले मलाई मेरो शिक्षण पेशाप्रतिको तीब्र इच्छाशक्ति, रहर र गर्वलाई थप उचाइमा पुर्याइदिएको छ । अर्कोतर्पm पुरस्कृत भएर एकक्षण खुसी हुने भन्दापनि यस क्षेत्रमा अझबढी क्रियाशील, सिर्जनशील, इमान्दार र लगनशिल बनेर लागिरहने थप जिम्मेवारी बोध भएको छ । आप्mनो पेशाप्रति थप उर्जाशिल हुने अवसर सिर्जना गर्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मेरो विद्यालय परिवार, विद्यार्थी भाइबहिनीहरू, मलाई हरहमेशा उत्प्रेरित गरिरहने मेरो परिवार, साथीहरु एवम् मार्गदर्शन गरिरहनु हुने गुरुहरुप्रति हार्दिक नमन गर्न चाहन्छु ।
अन्त्यमा, यस प्रकारको पुरस्कारको कोषको स्थापना गरी सामुदायिक विद्यालयकोे प्रगतिमा इटा थप्ने कार्य गरेकोमा पीपी प्रसाई फाउण्डेशनप्रति हार्दिक आभार व्यक्तगर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
– प्रतिमा चापागाईं (शिक्षक आदर्श मावि मेचीनगर नगरपालिका–८, आयावारी झापा)