२०८३ बैशाख ६ गते , आईतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : ठगी र संगठित अपराधमा हदैसम्मको सजाय मागदाबी गरिने

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ३ गते , बुधबार
नक्कली भुटानी शरणार्थी प्रकरण : ठगी र संगठित अपराधमा हदैसम्मको सजाय मागदाबी गरिने

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध प्रहरीले सरकारी वकिलमार्फत अदालतमा कस्तो सजायको मागदाबी गरेर मुद्दा दर्ता गर्छ भन्ने चासो अहिले सर्वत्र छ । राजनीतिक दलका नेतृत्वले पटकपटक आफ्ना दलका नेतालाई संरक्षण गर्दै आएको परिदृश्यमा यो प्रकरणमा समेत मुद्दा कमजोर बनाउन प्रहरीलाई दबाब दिन सक्छन् भन्नेमा चिन्ता पनि उत्तिकै छ ।
हालसम्म पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, सरकारका सचिव टेक नारायण पाण्डे, पूर्व गृहमन्त्री एवं एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै सर्वसाधारणबाट पैसा उठाउने केशव दुलाल लगायत १४ जना पक्राउ परिसकेका छन् । शुरुमा पक्राउ परेका चार जना दुलाल, सानु भण्डारी, सन्देश शर्मा र रामशरण केसीविरुद्ध प्रहरीले ठगीमा मात्रै अभियोग दर्ता गरेको थियो । पछि जब शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन मै कैफियत देखियो, त्यसपछि दुलाल र भण्डारीको बयानका आधारमा प्रहरीले सरकारका सचिव पाण्डे, राई, पाण्डेको बयानमा खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी हुँदै प्रहरी रायमाझीसम्म पुगेको हो ।
संगठित भएर ठगीको अपराध गरेको ठहर गर्दै प्रहरीले अभियोग दर्ता गरेको देखिन्छ । जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सीताराम रिजालले तत्काललाई ठगीसँगै संगठित अपराध सजाय ऐन २०७० मा उल्लेख भएको अधिकतम सजायको मागदाबी लिएर सरकारी वकिललाई मिसिल बुझाइने बताए ।
उनले भने, ‘अहिले प्रहरीले लैजाने भनेको ठगी र संगठित अपराधकै मुद्दा हो । पछि अन्य प्रमाण जुटेको अवस्थामा अन्य मुद्दा थपिन सक्छ ।’
काठमाण्डौ प्रहरीले संगठित अपराध र ठगीसँगै अन्य मुद्दामा पनि आरोपितमाथि अनुसन्धान गर्नुपर्ने मागदाबी लिएर जाने स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘संगठित अपराधमा प्रमाण पुगे पनि ठगीमा नपुग्ने देखिन्छ, पैसा बरामद भएको छैन, बैंकमार्फत वा चेकमार्फत पैसा ट्रान्जेक्सन भएको अवस्था होइन । त्यही भएर अन्य मुद्दामा पनि अनुसन्धान गर्नुपर्ने रायसहितको मिसिल बुझाउने तयारीमा छौँ ।’
स्रोतका अनुसार पक्राउ परेकामाथि सम्पत्ति शुद्धीकरण र अकुत सम्पत्तिमा पनि अनुसन्धान गर्नुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रहरीले पक्राउ परेका सबैलाई सम्पत्ति शुद्धीकरण, सरकारी कर्मचारी वा सरकारी जिम्मेवारी पाएकालाई अकुत सम्पत्तिमा, सबैलाई मानव तस्करी र संगठित अपराध सजाय ऐन अन्तर्गत मुद्दा लगाउन सरकारी वकिल कार्यालयसमक्ष मागदाबी गर्ने तयारी गरेको छ ।
संगठित अपराधको अधिकतम सजाय कति ?
कसैले संगठित अपराध गर्न वा गराउनु हुँदैन । संगठित अपराध सजाय ऐन, २०७० को दफा ३ मा भनिएको छ, ‘कसैले आपराधिक समूहको लाभका लागि आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने छ ।’
दफा ३ उपदफा ३ मा कसुर अन्तर्गतको सजायको व्यवस्था उल्लेख छ । प्रचलित कानुन बमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने उल्लेख छ ।
ऐनको दफा ९ ले अर्को व्यवस्था गरेको छ । भनिएको छ, ‘दफा ३ को उपदफा ९३० को खण्ड ‘क’ वा ‘ख’ तथा उपदफा ४ बमोजिम कसुर गर्नेलाई प्रचलित कानुन बामोजिम हुने सजायको थप ५० प्रतिशत सजाय हुन्छ ।’
मुलुकी अपराध संहिता २०७४ मा ठगीसम्बन्धी कसुरमा के छ ?
यो संहिताको दफा २४९ को उपदफा १ ले कसैले ठगी गर्न वा गराउन हुँदैन भनेको छ । यही दफाको उपदफा २ को १ ले ठगी प्रयोजनका लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूवर्क कुनै किसिमको हानी नोक्सानी वा क्षति पु¥याएमा वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिने ठहर गरेको छ ।
यही ऐनको दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ ले जे सुकै लेखिएको भए पनि अन्य किसिमले ठगी गरेको पाइएमा सात वर्षसम्म कैद र ७० हजार जरिवानाको व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार