कोशी प्रदेश सरकारको प्रवक्तामा शेर्पा
झापा । कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा तोकिएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई प्रवक्ता तोकेको हो । नेपाली कम्युनिष्ट पार्टीका नेता शेर्पा दुई दिन अगाडि मात्र मन्त्री नियुक्त भएका थिए ।
बैठकले प्रदेश लोकसेवा आयोगकको सातौं प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय समेत गरेको प्रवक्ता शेर्पाले जानकारी दिए । ग्रामिण सडक सुधार आयोजना कार्यान्वयन इकाइको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि भएको छ ।
बैठकले विभिन्न तीनवटा समिति समेत बनाउने निर्णय गरेको छ । राजनीतिक तथा प्रशासनिक समितिको संयोजक खानेपानी मन्त्री तिलचन पाठक, सदस्यहरुमा पर्यटनमन्त्री खिनु लङ्वा, आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप र सामाजिक विकासमन्त्री गिता तिम्स्निा रहेका छन् । यस्तै, कानुन न्याय तथा प्रदेश मामिला समिति संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, पर्यटनमन्त्री खिनु लङ्वा, आर्थिक मामिला मन्त्री विदुर लिङ्थेप र स्वास्थ्यमन्त्री इन्दमणि पराजुलीलाई तोकिएको छ ।
आर्थिक सामाजिक तथा पूर्वाधार समिति संयोजकमा भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, सदस्यहरुमा तिलचन पाठक, विदुर लिङ्थेप, उद्योग कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतो रहने निर्णय भएको छ ।