नेकपा ताप्लेजुङको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति ताप्लेजुङको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
देशको संविधान माथि प्रहार भइरहेको बेला भबिस्यका लागि ठोस कार्ययोजना सहित बामपन्थीहरुको एकता आवश्यक रहेको प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले बताए । उनले बिगतका कमीकमजोरीलाई आत्मालोचना गर्दै जिल्ला जिल्लामा पुगेर सङ्गठन विस्तार अभियान समेत चलाउने बताए ।
त्यस्तैगरी श्रमिक, किसान, उद्यमी लगायत आमनागरिकको हित र अधिकारको रक्षाका लागि नेकपा सदैव प्रतिवद्ध रहेकोले नेकपालाई २०६४ सालको भन्दा बढी विजयको शिखरमा पुर्याउन आजैबाट सुरु गर्न प्रदेश अध्यक्ष मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
गत २०८२ कार्तिक १९ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) सहित दश बामपन्थी घटकको एकिकरणबाट नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो। हालै नेकपाले प्रदेश एकता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेशका १४ जिल्लामा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरे बमोजिम सुनसरी जिल्लामा कार्यक्रम गरिसकेको र आगामी दिनमा अन्य जिल्लामा समेत एकता तथा प्रशिक्षण कार्यक्रम गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश सदस्य सानु कार्की बस्नेतले जानकारी दिइन् ।

नेकपाका प्रदेस इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश संयोजक हर्क बहादुर नेम्बाङ "मिक्सो," जिल्ला इन्चार्ज खेलप्रसाद वुढाथोकी "पराग" लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा २९९ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो । विभिन्न संगठन सम्बन्धीका महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न बैठकको अध्यक्षता जिल्ला संयोजक दुर्गाहाङ चङ्वाङ्ले गरेका थिए भने संचालन सहसंयोजक सागरमणी गौतमले गरेका थिए।