म्यानपावरमार्फत कोरियामा सिपयुक्त श्रमिक पठाउने बाटो खुल्यो
झापा । दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुला भएको छ । उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियाको ई–७ भिसामा जाने नेपाली सिपयुक्त श्रमिकका कागजात प्रमाणीकरण लगायत आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ । महाशाखाले पठाएको पत्रमा मन्त्रालयको १५ असारको निर्णयअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको उल्लेख छ ।
उक्त पत्रमा यसअघि मन्त्रालयबाट निर्देशन माग गरिएको विषय, नेपालस्थित गणतन्त्र कोरियाको दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका आदेशहरूको आधारमा ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
यससँगै वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम म्यानपावर कम्पनीमार्फत दक्षिण कोरियामा सिपयुक्त श्रमिक पठाउने बाटो औपचारिक रूपमा खुलेको छ । मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सियोलस्थित नेपाली दूतावासलाई आवश्यक कागजात प्रमाणीकरण गरी कार्यसम्पादन गर्नसमेत अनुरोध गरेको छ । पत्रको बोधार्थ वैदेशिक रोजगार विभाग र सियोलस्थित नेपाली राजदूतावासलाई समेत पठाइएको छ ।