२०८३ असार २१ गते , आईतबार

विश्वकप २०२६ : फ्रान्स र मोरक्को क्वाटरफाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८३ असार २१ गते , आईतबार
विश्वकप २०२६ : फ्रान्स र मोरक्को क्वाटरफाइनलमा प्रवेश

झापा । फ्रान्स र मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भर्खरै सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्स र क्यानडालाई ३-० गोलले हराउँदै मोरक्कोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
फ्रान्सको जितमा एकमात्र निर्णायक गोल किलियन एम्बाप्पेले गरे। उनले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। डिजिरे डुएलाई पाराग्वेका डिफेन्डरले डी–बक्सभित्र लडाएपछि भिएआरको सहायताले रेफ्रीले पेनाल्टी दिएका हुन् । जसको अवसरलाई एम्बाप्पेले खेर फालेनन् ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा एम्बाप्पेको दुई सशक्त प्रहारलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बिफल पारे ।
योसँगै एम्बाप्पेले विश्वकपमा गोल संख्या १९ बनाएका छन् । उनी अर्जेन्टिनाका लियोनल मेसीभन्दा एक गोलले मात्र पछि छन्। यस्तै जारी विश्वकपमा उनको यो सातौं गोल हो । गोल्डेन बुट दौडमा पनि एम्बाप्पे र मेसी बराबरीमा छन्।
यता मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेपछि मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै सन् २०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
यस जितसँगै ‘एटलस लायन्स’ उपनामले परिचित मोरक्को दुई पटकभन्दा बढी विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
साथै, सन् २०२२ मा सेमिफाइनल पुगेपछि मोरक्कोले लगातार दोस्रो संस्करणमा अन्तिम आठमा स्थान बनाएको हो ।

सम्बन्धित समाचार