गोली प्रहार गरी भारतीय लागूऔषध कारोबारी पक्राउ
झापा । प्रहरीले गोली प्रहार गरी एक भारतीय लागूऔषध कारोबारी पक्राउ गरेको छ । भारत बिहार मधुबनी जिल्ला बिरपुर ग्राम पन्चायत ३ बस्ने अन्दाजी वर्ष ३५ को अब्दुल कलामलाई पक्राउ गरेको हो ।
शनिबार अन्दाजी २:४५ बजे सिरहा जिल्ला नवराजपुर गाउँपालिका वडा नम्बर ५ झाझपट्टी स्थित नेपाल-भारत सिमा नाकामा भारतबाट बीआर३२एआर६०२४ नम्बरको भारतीय मोटरसाईकल र अर्को नम्बर नखुलेको मोटरसाइकलमा गरी ४ (चार) जना मानिस सवार भई लागूऔषध ब्राउन सुगर लिई भारतबाट नेपाल तर्फ कारोबारको लागी आउँदै गरेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहा र इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त मोटरसाईकलहरु रोकी चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार भएको मानिसहरु मोटरसाईकल सहित फरार भएको र बीआर३२एआर६०२४ नम्बरको मोटरसाईकललाई रोकी प्रहरी टोलीले नियन्त्रणमा लिने क्रममा फरार भएको ब्यक्तीहरुले प्रहरी माथि कटुवा पेस्तोलबाट १ राउन्ड फायर गरेको हुदाँ जवाफी कारवाही गर्ने क्रममा प्रहरीको तर्फबाट २ राउन्ड फायर गर्दा कलामको बायाँ खुट्टामा गोली लागी घाइते भई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयलाई सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।
पक्राउ परेका कलामको साथबाट कटुवा पेस्तोल १ थान, प्लाष्टिक सहित १२२.८० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र मोबाईल १ थानसहित पक्राउ गरी घाईतेलाई प्रहरीको निगरानीमा प्रादेशिक अस्पताल सिरहा ल्याइ उपचार भइरहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।