नेपालमा लागूऔषध सप्लाई गर्ने भारतीय कारोबारी २४ लाख नगदसहित पक्राउ
झापा । भारत बिहारको किशनगञ्ज प्रहरी र एसएसबीले लागूऔषध तस्करीमाथिको ठूलो कारबाहीका क्रममा एक तस्करलाई पक्राउ गरेको छ।
दिघलबैंक प्रहरी चौकी क्षेत्रको मोहमारी खरवार टोल बस्ने शाहनवाज हुसेनलाई ८० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट २३ लाख ४७ हजार ९०० नेपाली रुपैयाँ र ३० हजार ५५० भारतीय रुपैयाँ पनि बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, एसएसबी र स्थानीय प्रहरीले गोप्य सूचनाको आधारमा संयुक्तरुपमा छापा मारेको थियो । खोजतलासका क्रममा, अभियुक्तबाट छ वटा मोबाइल फोन र एउटा डिजिटल तराजु पनि बरामद भएको छ ।
प्रारम्भिक अनुसन्धानले अभियुक्तको नेपालका कारोबारीहसँग सम्बन्ध हुन सक्ने देखाएको छ। बरामद गरिएका मोबाइल फोनहरूको जाँच गरी उसको नेटवर्क र अन्य सहयोगीहरूको बारेमा जानकारी सङ्कलन गरिएको छ । प्रहरी अधिकारीहरूले डिजिटल प्रमाण र कल डिटेल रेकर्डको आधारमा थप कारबाही गरिने बताए । भारत–नेपाल सीमासँग जोडिएको किशनगंज जिल्लामा ब्राउन सुगर र अन्य लागूऔषधको तस्करी लामो समयदेखि सुरक्षा एजेन्सीहरूका लागि चुनौती बनेको छ । उनीमाथि थप कानुनी कारबाही सुरु गरिएको छ।
यो कारबाहीलाई लागूऔषध ओसारपसार विरुद्धको महत्वपूर्ण सफलता मानिएको छ। प्रहरीले अभियुक्त शाहनवाज हुसेनविरुद्ध भारतीय दण्ड संहिताको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।
यस सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको भारतीय प्रहरीले जनाएको छ ।