विश्वकप २०२६ : ब्राजिल र पाराग्वे अन्तिम १६ मा
झापा । गए राति भएको खेलमा विजयी हुँदै ब्राजिल र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ । ब्राजिलले जापानलाई साथै पाराग्वेले जर्मनीलाई हराउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जाापनलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।
वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरे ।
पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित हात पारेको हो ।
ब्राजिलले अब आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै चार पटकको विजेता जर्मनीलाई पेनाल्टीसुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।
अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।
पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टीसुटआउटमा पराजित भएको यो पहिलो पटक हो ।
सन् २००२ मा जापानमा कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला समेत लिएको छ ।