असममा ‘जीवन मञ्चन’ कृति लोकार्पण
असम (भारत) । उत्तर–पूर्वी भारतको असम राज्यअन्तर्गत प्रतिष्ठित साहित्यिक संस्था असम साहित्य सभा पश्चिम कार्बीआङलङ जिल्ला समितिको आयोजनामा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
आईतबार जिल्लाको प्रमुख प्रवेशद्वारस्थित सिङ रङहाङ मेमोरियल पार्क प्राङ्गणमा बिहान ११ बजे कार्यक्रम सुरु भएको थियो । उद्घाटन सत्रमा स्थानीय साहित्यकार रबिन बरदलैले दीप प्रज्वलन गरी कार्यक्रमको थालनी गरेका थिए भने विशिष्ट साहित्यकार केशव चन्द्र उपाध्यायले सिङ रङहाङको प्रतिमामा माल्यार्पण गरेका थिए ।
दोस्रो सत्रअन्तर्गत पश्चिम कार्बीआङलङ जिल्ला समितिका स्थायी सभापति विष्णु निरौलाको अध्यक्षतामा ग्रन्थ विमोचन सभा सम्पन्न भयो । दार्जिलिङकी साहित्यकार डा. नीना राईको कथा संग्रह ‘जीवन मञ्चन’ लाई असमका लेखक रण काफ्लेले असमिया भाषामा अनुवाद गरेको कृति असम साहित्य सभाका केन्द्रीय उपाध्यक्ष पदुम राजखोवाले विमोचन गरेका थिए ।
कार्यक्रममा दार्जिलिङका आएका अतिथिहरू डा. नीना राई, डा. साङ्मु लेप्चा, डा. अनिता लामा, सबिता थापा संकल्प—तथा असमकी सुकन्या शान्ता शर्मा (मास्टर सेफ प्रथम रनर्सअप फाइनलिस्ट) लगायत पाँच जनालाई सम्मान गरिएको थियो।
कविहरू पवन शर्मा, मदर ज्योति, वापन क्र र ज्योति होमागाईंले विभिन्न विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनप्रिय गायक बलेश्वर हान्से तथा सार्थे रङ्पीले कार्बी गीत प्रस्तुत गरी दर्शकको मन जितेका थिए । कार्यक्रम भाग्य देवी बेपीले सञ्चालन गरेका थिए भने अलका बाठारीले स्वागत गरेकी थिइन् ।
प्रमुख अतिथि पदुम राजखोवाले आफ्नो विस्तृत सम्बोधनमा संस्थाको गरिमा, साहित्यिक अनुवादको महत्व, भाषा–साहित्यमा पश्चिमी प्रभाव, साइबर अपराध तथा महिला हिंसाजस्ता समसामयिक विषयमा धारणा राखेका थिए।
अन्त्यमा सभापतिको मन्तव्यपछि धन्यवाद ज्ञापन गर्दै असमको राष्ट्रिय संगीत प्रस्तुतिसँगै कार्यक्रम समापन गरिएको थियो ।