खटाएको ठाउँमा नजाने प्रशासकीय अधिकृतलाई तीन दिन भित्र काममा जान निर्देशन
झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको स्थानमा नजाने १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिन भित्र कामकाजमा खट्न निर्देशन दिएको छ ।
२०८२ भदौदेखि माघसम्म खटाइएका १६ जना हालसम्म तोकिएको स्थानमा नगएको मन्त्रालयले जानकारी गराएको छ । सरुवा गरिसकेपछि २१ दिनभित्र कार्यक्षेत्रमा पुग्नुपर्ने व्यवस्था भए पनि उनीहरू नगएको मन्त्रालयले जनाएको छ ।
‘नगरपालिका÷गाउँपालिकाहरूमा रमाना भई हाजिर हुन नगएका उपसचिव तथा शाखा अधिकृत स्तरका सोह्र (१६) जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन (३) दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई जान,’ मन्त्रालयले निर्देशन दिएको छ ।
तोकिएको पालिकामा नजाने निजामति सेवा नियमावलीमा रहेको व्यवस्था अनुसार कारबाही हुने चेतावनी मन्न्त्रालयले जानकारी गराएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तोकेका तर कर्मचारी नगएको पालिकाहरूमा जयपृथ्वी नगरपालिका बझाङ, अमरगढी नगरपालिका डडेलधुरा, पुर्चौडी नगरपालिका बैतडी, साफेंबगर नगरपालिका अछाम, ठाकुरबाबा नगरपालिका बर्दिया, गढीमाई नगरपालिका रौतहट, महागढीमाई नगरपालिका बारा, लिखु तामाकोशी गाउँपालिका रामेछाप, सुर्नया गाउँपालिका बैतडी, मष्टा गाउँपालिका बझाङ, जुनीचाँदे गाउँपालिका जाजरकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, यशोधरा गाउँपालिका कपिलवस्तु, कोशी गाउँपालिका सुनसरी, आमचोक गाउँपालिका भोजपुर र शिवनाथ गाउँपालिका बैतडी छन् ।