बिर्तामोडका मेनपावर धमाधम बन्द हुँदै
बिर्तामोड । अमेरिका-इरान युद्धको असर वैदेशिक रोजगारको क्षेत्रमा देखिएको छ । सरकारले खाडी लगायतका देशमा जान श्रम स्वीकृति रोकेसँगै मेनपावर कार्यालय बन्द हुन थालेका छन् ।
'श्रम नहुँदा भिषा लागेका मान्छे जान पाएका छैनन्, भिषाको समय कतिपयको सकिन लागेको छ,' वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाका अध्यक्ष धनबहादुर पन्धाकले भने, 'यो समस्या हल नहुन्जेल अफिसहरु बन्द हुने अवस्थामा छन् ।' मेनपावर बन्द हुँदा सयौँले रोजगारी गुमाउने उनले बताए । बिर्तामोडका अधिकांश मेनपावर व्यवसायीले कर्मचारीहरूलाई वैशाखदेखि बिदा दिने तयारी गरेका छन् । बिर्तामोडमा मात्र १५० हाराहारी मेनपावरका शाखा कार्यालय रहेका छन् ।
राज्यको नीतिका कारणसमेत वैदेशिक रोजगार व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको पन्धाकको भनाई छ । नेपालमा ११ सय हाराहारी मेनपावर कार्यालय रहेकोमा ३ दर्जन मेनपावरले मात्र न्यून संख्यामा निःशुल्क भिषाको डिमान्ड ल्याउने हुँदा सरकारको नीति नै अव्यवहारिक भएको उनको भनाई छ। सरकारले फ्री भिषामा कडाई गरेमा युवाहरु असुरक्षित आप्रवासनतर्फ आकर्षित हुन बाध्य हुने उनले बताए ।
सरकारले दश हजार भन्दा बढी शुल्क लिनमा कडाई गर्नुका साथै विमानस्थलमा देखाउनु पर्ने कागजातमा समेत कडाई गरेपछि वैदेशिक रोजगार व्यवसायी अफ्ठ्यारोमा परेका छन् ।