कर्मचारीलाई सजाय तोकेको अदालतले लागूऔषध मुद्धाका आरोपी खरेललाई किन दियो सफाई ?
बिर्तामोड । गत साउन १ गते झापाको बिर्तामोड–५ स्थित मनकुमार संग्रौलाको घरबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको घटनामा पक्राउ परेका बिर्तामोड–५ का भानुभक्त खरेललाई अदालतले सफाई दिएको छ भने उनका कर्मचारी अर्जुनधारा ६ बस्ने २५ बर्षीय विनोद घिमिरेलाई भने दोषी ठहर गरी सजाय तोकेको छ ।
ठूलो परिमाणमा लागूऔषध बरामद भएको घटनामा कर्मचारीलाई दोषी ठहर गरी मालिक भनिएका खरेललाई सफाई दिन अदालतले लिएका आधार के हुन् भन्ने आम सर्वसाधारणलाई चासोको बिषय बनेको छ ।
खरेललाई सफाई दिन अदालतले लिएका आधारहरु के के हुन ?
प्रहरीले संग्रौलाको घरमा छापा मारी ठूलो परिमाणमा लागूऔषध बरामद गरेसँगै फरार भएका खरेललाई जेनजी आन्दोलन लगत्तै घर आएको मौकामा भदौ २८ गते स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।
जिल्ला अदालत झापाले असोज ५ गते खरेललाई थुनामा राख्ने आदेश दिएको थियो । खरेलले सञ्चालन गरेको भनिएको मनकुमार संग्रौलाको घरको गोदाम खरेलको नभइ उत्तम पटेलको भएको, लागूऔषध बरामद भएको समयमा खरेल भारतमा भएको र उनले सञ्चालन गरेको सनलाइट फर्माबाट लागूऔषध बरामद नभएको भन्ने आधारमा अदालतले खरेललाई फागुन ४ गते सफाई दिएको थियो । अदालतको आदेशसँगै कारागार कार्यालय चन्द्रगढीमा थुनामा रहेका खरेल थुनामुक्त भएका थिए ।
अदालतको उक्त आदेशमा उक्त गोदाम खरेलको नभई उत्तम पटेलको भएको भनिएसँगै केहि प्रश्नहरु जन्मिएका छन् । लागूऔषध बरामद भएको बखत उक्त गोदाम खरेलकै भएको यकिन गरी प्रहरीले कसरी अभियोजन गर्यो ? वा साक्षीले दबाब र प्रभावमा परेर अदालतमा बयान फेरेर गोदाम खरेलको नभई पटेलको हो भन्यो भन्ने प्रश्न जन्माएको छ । एक अनुसन्धान अधिकृत भने साक्षीले अदालतमा बयान फेरेको हुन सक्ने बताउँछन् । घटना लगत्तै प्रहरीले अभियोजन गर्ने तर अदालती प्रक्रिया लामो हुँदा साक्षी होस्टाइल हुने सम्भावना रहने उनको भनाई छ ।
न्यायाधिश लोकबहादुर हमालको इजलासले गरेको फैसलाले मालिक भनिएका खरेललाई सफाई दिएपनि उनका कर्मचारी अर्जुनधारा ६ बस्ने २५ बर्षीय विनोद घिमिरेलाई भने दोषी ठहर गरी सजाय तोकेको छ । फागुन २९ गते अदालतले गरेको सजाय निर्धारणमा लागूऔषध बरामद भएको समयमा सो घर गोदाममा घिमिरे रहेको भन्दै २ लाख रुपैया जरिवाना र एक बर्ष कैद निर्धारण गरेको अदालत स्रोतले जनाएको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाका उपाध्यक्ष र नेकपा एमाले बिर्तामोड नगर कमिटि सदस्य समेत रहेका खरेल लागूऔषध मुद्धामा जोडिएसँगै नेकपा एमाले र स्वास्थ्यकर्मी महासंघले उनलाई निलम्बन गरेको थियो ।
प्रहरीले संग्रौलाको घरमा कोठा भाडा लिइ भण्डारण गरिराखेको अवस्थामा ५ लाख ६० हजार १०४ रुपैया बराबरको १०३८०० क्याप्सुल ट्रामाडोल, ४३ हजार ९८२ रुपैया बराबरको १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन, ५७ हजार ३०७ रुपैया बराबरको ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, ७ लाख ४५ हजार २६३ रुपैया बराबरको टर्मिपिल किट ७६५० ट्याब्लेट, ३ लाख ९८ हजार ३७५ रुपैँया बराबरको जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट र ३ लाख ८८ हजार रुपैँया बराबरको ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको थियो ।