विदेश जानेको ओरिन्टेसन अब अनलाइनबाट, शुल्क तिर्नु नपर्ने
झापा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुअघि श्रमिकले अनिवार्य रूपमा लिनुपर्ने पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
श्रममन्त्री दीपककुमार शाहले आइतबार श्रम मन्त्रालयमा बसेको बैठकमा कार्ययोजना बनाई कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य-दृश्य सामग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ ।
रोजगारदाता कम्पनीले भिसा, करार अवधि दिइसकेका र मेडिकलमा फिट भइसकेपछि हरेक श्रमिकले तोकिएको अभिमुखीकरण तालिम केन्द्रमा भौतिक रूपमा उपस्थिति भई दुई दिन १२ घण्टा कक्षा लिनुपर्ने व्यवस्था छ । यो कक्षा पूरा गरिसकेपछि मात्रै अन्तिम श्रम स्वीकृति जारी हुन्छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले अभिमुखीकरण तालिमलाई अनलाइन प्रणालीमा लैजान अध्ययन गर्ने बताए । ‘वैदेशिक रोजगारमा जाने श्रमिकलाई गन्तव्य देशका बारेमा सामान्य जानकारी दिन यो कक्षा हुने गरेको छ । अहिले यो कक्षा लिनको लागि श्रमिकले पैसा बुझाउनुपर्छ,’ उप्रेतीले भने, ‘श्रममन्त्रीज्यूले यसलाई नि:शुल्क रूपमा अनलाइन प्रणालीबाटै सूचना लिन सक्ने व्यवस्था गर्नुपर्ने पक्षमा हुनुहुन्छ । यसको लागि विद्यमान कानुन, ऐन, नियम, निर्देशकाले कहाँ कहाँ बाधा पुर्याउँछ । यो अध्ययन गरेर हामी अगाडि बढ्नेछौं ।’
अभिमुखीकरण तालिमका लागि ओरिन्टेसन सेन्टरहरुले दुई हजार ७०० रुपैया लिँदै आएका छन्।