इनिसा विकको शव १९ दिनदेखि अस्पतालमा
झापा । १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अझै टुङ्गिएको छैन । गत २३ फागुनमा मृत्यु भएकी इनिसाको शव १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।
इनिसाको शवले १९ दिनदेखि न्यायको पर्खिइरहेको छ । छोरीले न्याय नपाएसम्म दाहसंस्कार समेत नगर्ने अडान पीडित परिवारले लिएको छ ।
‘छोरीको ज्यान गइसकेको छ, हामी उसको शव ल्याएर के गरौँ । हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने निर्णय गरेका छौँ,’ इनिसाका बुवा इन्द्रबहादुर विक भन्छन्, ‘न्याय निरुपणमा ढिलाइ हुनु भनेको न्याय नपाए सरह हो । हामीलाई छिटो न्याय दिइयोस् ।’
इनिसालाई न्याय माग्दै देशैभर प्रदर्शन र दबाबका कार्यक्रम जारी छन् । घटना भएको एक १९ दिनसम्म पनि वास्तविक तथ्य सार्वजनिक नभएको भन्दै परिवारले असन्तुष्टि जनाइरहेको छ ।
न्याय निरुपणमा ढिलाइ हुँदा दुबईमा रोजगाररत इन्द्रबहादुरको छुट्टि सकिन थालेको छ । ‘उताको बिदा सकिन थालिसक्यो । रोजगारीका लागि पैसा खर्च गरेर दुबई गएको थिएँ । तलब, सेवा सबै राम्रो छ,’ इन्द्रबहादुरले भने, ‘यता छोरीको दाहसंस्कार गरेको छैन, उता बोलाउन थालिसक्यो ।’
छोरी नरहे पनि छोरा र परिवारको लागि पनि विदेशिनुको विकल्प नभएको उनले बताए । तर छोरीले न्याय पाउनेमा भने उनलाई शंका हुन थालेको छ । ‘घटनाबारे प्रहरीले अहिलेसम्म खुलेर जानकारी दिएको छैन । घटना झनै रहस्यमय बन्दै जाने हो कि जस्तो पो लाग्न थालेको छ,’ इन्द्रबहादुरले भने ।
घटना लगत्तै पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले गत फागुन २३ गतकै दिन जबरजस्ती करणी आरोपमा घटनास्थलबाट १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका किशोरको बयानका आधारमा प्रहरीले २४ फागुनमा थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
इनिसा विक घटनाको छानबिनका लागि सुर्खेत गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली काठमाडौं फर्किएको छ ।
सीआईबीको टोली अनुसन्धान सकेर आइतबार नै फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी महोनजंग बुढथापाले जानकारी दिए । ‘सीआईबीको टोली अनुसन्धान सकेर काठमाडौँ फर्किएको छ,’ डीएसपी बुढथापाले भने, ‘अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ । दुई वटा ल्याव रिपोर्ट पर्खेर बसेका छौँ ।’
इनिसा हत्या प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै देशैभर प्रदर्शन हुन थालेपछि सुर्खेत प्रहरीले गत फागुन २८ गते थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । २९ गतेबाट प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली अनुसन्धानमा खटेको थियो ।
पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको सुर्खेत प्रहरीले घटनाको गाम्भीर्यतालाई मध्यनजर गरेर केन्द्रीय अनुसन्धान ब्युरोको पनि सहयोग लिइएको डीएसपी बुढथापाले बताए । उनका अनुसार, जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको थियो ।
उक्त घटनाबारे सीआईबीसहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरेका थिए ।