दमकमा बर्डफ्लु देखिएपछि कुखुरा ओसारपसारमा रोक
बिर्तामोड । झापाको दमकमा बर्डफ्लु देखिएपछि पंक्षी तथा पन्छीजन्य वस्तु ओसारपसारमा कडाई गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै ओसारपसारमा कडाई गरेको हो ।
झापाको दमक नगरपालिका १० स्थित दमक एग्रिकल्चर फार्म प्रालीमा पालिएको लेयर कुखुरामा बर्डफ्लु देखिएपछि यसको नियन्त्रणमा प्रशासनले कडाई गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले जारी गरेको सूचनामा भनिएको छ, 'झापा जिल्लाको दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकलचर फार्म प्राईभेट लिमिटेडमा पालेका लेयर्स कुखुरामा बर्ड फ्लू रोग देखा परेकोले रोग नियन्त्रण गर्न उक्त क्षेत्र आसपास २० मिटर सम्मको चारै दिशालाई संकटग्रस्त क्षेत्र तोकी वर्डफ्लू रोग नियन्त्रण सम्वन्धी कार्य भैरहेको हुँदा वर्डफ्लू रोग नियन्त्रण कार्यमा सहयोग एंव समन्वयको लागि सरोकारवाला सबैमा अनुरोध गर्दै बर्डफ्लू रोग अन्यत्र फैलन नदिन आवश्यक सतर्कता अपनाउनु हुन समेत अनुरोध छ। संक्रमण देखिएको पालिकाबाट अन्यत्र पन्छी तथा पन्छीजन्य बस्तु, सामग्री आयत निर्यात तथा ओसार प्रसार गर्न अर्को सूचना प्रकाशन नभए सम्मको लागि रोक लगाइएको हुँदा सोही अनुसार गर्नगराउन समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।'