२०८३ बैशाख ५ गते , शनिबार

एक्सनमा झापा प्रहरी, एकै दिन लाखौंको अवैध सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ५ गते , विहीबार
एक्सनमा झापा प्रहरी, एकै दिन लाखौंको अवैध सामान बरामद

बिर्तामोड । झापा प्रहरीले एकै दिन लाखौँको अवैध सामान बरामद गरेको छ । बिहीबार प्रहरीले झापाको विभिन्न स्थानबाट करिब १३ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
बिहीबार बिहानको राति अन्दाजी २ बजे अर्जुनधारा नगरपालिका ६ चिया बगानमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१ह ६३५५ र मे१ह ७२९४ नम्बरको अटोबाट इप्रका अनारमनीबाट खटिएको  प्रहरी टोलीले अन्दाजी ५ लाख मूल्यबराबरको भन्सार छलि गरी ल्याइएको पर्दा, साडी, कुर्था सुरुवाल, ढाका लगायतका बिभिन्न किसिमका कपडाहरु बरामद गरेको थियो ।
प्रहरीले अटो चालकहरू मेचीनगर नगरपालिका ७ बस्ने बर्ष ४० को सुबिन्द्र जोगी र भोजपुर हतुवागडी गाउँपालिका ५ घर भई मेचीनगर नगरपालिका ७ बस्ने बर्ष ३५ को भमदल राईलाई पक्राउ गरेको छ ।
बिहीबार बिहान १०:०० बजेको समयमा जिल्ला झापा बिर्तामोड नगरपालिका-५, चामल मण्डीबाट वेबारिसे अबस्थामा   सडक किनारमा राखिएको अन्दाजी ५ लाख ९९ हजार ६५० रुपैया बराबरको हार्डवेयरको सामानहरु र बरामद गरेको छ ।
त्यस्तै बिहीबार बेलुका ५:१० बजेको समयमा मेचीनगर-६ काँकरभिट्टामा इप्रका काँकरभिट्टाबाट  खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी १ लाख दुई हजार ८१८ रुपैया बराबरको  बिभिन्न किराना आईटमहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीबार साँझ ६:१० बजेको समयमा जिल्ला झापा मेचीनगर-६ मेचीपुल स्थितमा इप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा लैजाँदै गरेको अन्दाजी ८२ हजार रुपैयाँ बराबरको कपडा आईटमहरु (गुरुङ ड्रेस, चाइनिज सुरुवाल) नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
नियन्त्रणमा लिएका अवैध सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको इन्चार्ज फेरिएसँगै प्रहरीले अवैध गतिविधिमा संलग्नहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ। जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखमा प्रहरी उपरीक्षक वसुन्धरा खड्का आएसँगै अवैध गतिविधि नियन्त्रणमा प्रहरी एक्सनमा उत्रिएको हो ।
प्रहरीले केही दिनअघि झापाको बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा रहेका होटलहरूमा छापा मारेर शंकास्पद अवस्थामा १६ जना मानिसहरूलाई पक्राउ गरेको थियो । त्यस्तै मध्यरातसम्म सञ्चालन गर्ने गरेका बिर्तामोडका विभिन्न डान्सबारका सञ्चालकहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ । होटल तथा डान्सबारबाट मोटो रकम असुलेर प्रहरीको सेटिङमा अवैध गतिविधि सञ्चालन गर्ने गरिएको गुनासो बढेसँगै झापा प्रहरी एक्सनमा उत्रिएको हो । झापा प्रहरी इन्चार्ज खड्काको पछिल्लो कदमको प्रशंसा गर्दै बिर्तामोडका एक स्थानीय प्रहरीको यो एक्सन मौसमी रुपमा मात्र नभई नियमित हुनुपर्ने माग गर्दछन् । यता जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक खड्का नागरिकको शान्ति, सुरक्षा, अमनचयन कायम राख्नु प्रहरीको जिम्मेवारी भएको बताउँदै अवैध गतिविधि नियन्त्रणमा सधैं लागिरहने बताउँछिन् । 

सम्बन्धित समाचार