ज्ञानेन्द्र शाही राप्रपा संसदीय दलको नेता बन्ने
बिर्तामोड । संसदमा ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने भएका छन् । राप्रपाबाट प्रत्यक्षमा चुनाव जित्ने उनी एक्ला उम्मेदवार हुन् ।
राप्रपाले अघिल्लो चुनावभन्दा यसपटक कमजोर प्रदर्शन गरेको छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी कुल १४ सिट जितेको थियो । यसपटक प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी राप्रपा ५ स्थानमा खुम्चिएको छ ।
अघिल्लो संसदमा पाचौं ठूलो दलको हैसियतमा रहेकोमा यसपटक छैटौंमा झर्यो । लामो इतिहास बोकेको राप्रपालाई भर्खरै खुलेको श्रम संस्कृति पार्टीले उछिनेको छ ।
ज्ञानेन्द्र शाहीको जितका कारण राप्रपाको राष्ट्रिय पार्टीको हैसियत जोगियो । राष्ट्रिय पार्टीको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्ने संवैधानिक प्रावधान छ । उनले पनि हारेको भए राप्रपाको राष्ट्रिय हैसियत गुम्ने थियो । त्यसैले गर्दा पार्टीको नेतृत्वप्रति उनीप्रति कृतज्ञ बनेको छ । हिजो कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई माला र खादा लगाएर स्वागत गरेका थिए ।
शाहीले लगातार दोस्रोपटक जुम्लाबाट जितेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको देशब्यापी लहर जुम्लामा नपुग्दा उनको जित सम्भव भयो । यहाँ रास्वपाकी उम्मेदवार विनिता कठायतको जमानत जफत भएको छ ।
शाहीले अघिल्लो पटक संसदमा राप्रपाको प्रमुख सचेतकको भूमिकामा रहेर निकै प्रभावशाली भूमिका खेलेका थिए । अघिल्लो संसदको अनुभव र यसपटक प्रत्यक्ष जित्ने एक्ला उम्मेदवार भएकाले उनी निर्विवाद संसदीय दलको नेता बन्ने भएका हुन् । पार्टीको बैठकले औपचारिक निर्णय गर्न भने बाँकी छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि शाहीप्रति संकेत गर्दै संसदीय दलको नेता को हुने भन्नेमा द्विविधा नै नभएको प्रतिक्रिया दिए । राप्रपाबाट समानुपातिकमा चारजना निर्वाचित भएकोमा उनीहरु सबै नयाँ हुन् ।