२०८३ बैशाख ५ गते , शनिबार

पत्रकार आचार्यमाथि आक्रमण गर्ने युवराज पाठक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ३० गते , शनिबार
पत्रकार आचार्यमाथि आक्रमण गर्ने युवराज पाठक पक्राउ

बिर्तामोड । झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पत्रकार अर्जुन आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने मुख्य अभियुक्त युवराज पाठक पक्राउ परेका छन् । प्रहरीले पाठकलाई आज (शनिबार) बिहान नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईले जानकारी दिए ।
झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । झिलझिले चोकबाट झण्डै १० किलोमिटर टाढा आफन्तको घरमा बसेका पाठकलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बिहानै नियन्त्रणमा लिएर दमक ल्याएको छ ।
यसरी भएको थियो घटना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवनचोकमा आक्रमण भएको थियो । एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आचार्यलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए ।
एमालेको घरदैलोका क्रममा केही महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा मतदान गर्ने बताएको दृश्य खिचिरहेका बेला आचार्यमाथि आक्रमण भएको थियो । पीडितका अनुसार उनलाई बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा जबर्जस्ती चढाएर अपहरण गर्ने प्रयास समेत गरिएको थियो । आक्रमणकारीले आचार्यको मोबाइल र चस्मा समेत लुटेर ‘दमक पुगेपछि थप देखाइदिने’ धम्की दिएका थिए । आचार्य रातोपाटी डटकमका कोशी प्रदेश प्रमुख तथा हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन् । 

सम्बन्धित समाचार