हिमालयनका एजेन्सी मेनेजरले घरै बसेर बीमा प्रस्ताव स्वीकृत गराउन सक्ने
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेस गर्नका लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेस गर्न सहज बनाउने उद्देश्यले यस प्रकारको पहुँच दिइएको कम्पनीले एक विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
एजेन्सी मेनेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफुले गरेको बीमा प्रस्ताव स्वीकृतीको लागि कम्पनीमा पेस गर्न सकिने व्यवस्था मिलाएको छ । एजेन्सी मेनेजरले बीमा प्रस्तावका लागि तोकिएका कागजात तथा विवरणहरु एजेन्सी पोर्टलमा पेस गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रक्रिया पूरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने प्रबन्ध गरिएको कम्पनीको भनाइ छ ।
एजेन्सी मेनेजरलाई दिइएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ । कम्पनीले एजेन्सी मेनेजरलाई दिएको सुविधाको कारण बीमा प्रस्ताव स्वीकृति छिटो, छरितो र सहज रुपमा हुने भएको छ। कम्पनीले एजेन्सी मेनेजरहरुलाई अन्डरराइटारको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित सर्तहरु पूरा गरेपछि एजेन्सी मेनेजरहरुलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले जानकारी दिए ।
कम्पनीले एजेन्सी मेनेजरलाई पहुँच दिइएको एजेन्सी पोर्टलबाट व्यवसायसम्बन्धी रिपोर्टलगायतका विवरणहरु जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गरी कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजान प्रयास भइरहेको कम्पनीले जनाएको छ ।