एमाले अध्यक्ष ओलीको लज्जास्पद हार, लुसिफर भन्ने बालेनलाई जितेपछि भने- ‘बाबु’
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ मा लज्जास्पद हार व्यहोरेका छन् । ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा काठमाण्डौ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन)ले करिब ५० हजार मतान्तरले हराएका हुन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८५७६ मतको फराकिलो मतान्तरले पराजित गरेका थिए । तर यस पटकको निर्वाचनमा उनै ओली ४९६१४ मतको फराकिलो अन्तरले बालेनसँग पराजय भोग्नु परेको छ ।
२०४८ यता २०६४ बाहेक निरन्तर सांसद बन्दै आएका ओलीको संसद यात्रामा दोस्रो पटक ब्रेक लागेको छ । नेकपा एमालेको नवौँ महाधिवेशन यता निरन्तर तेस्रो पटक अध्यक्ष बनेका ओली चार पटक प्रधानमन्त्री बनिसकेका छन् । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पदबाट राजिनामा दिन बाध्य भएका ओली त्यस यता आलोचित बन्दै आएका थिए ।
प्रतिनिधीसभा सदस्यमा विजयी बनेपछि एमाले अध्यक्ष ओलीले बालेनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनलाई ढोलक उपहार दिँदै गरेको तस्वीर राखेर लेखेका छन् –
‘बालेन बाबु,
बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् हार्दिक शुभकामना !’
यस अघि ओलीले बालेनलाई लुसिफर भन्दै होच्याउने गरेका थिए ।