बसपार्कको समस्या समाधान गर्न भूमिका खेल्छु : धर्मशिला चापागाईं
बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकी धर्मशिला चापागाईंले बिर्तामोड र अर्जुनधाराको सीमामा रहेको बसपार्क जग्गाको समस्या समाधानमा अहम् भूमिका खेल्ने बताएकीछन् । प्रचार प्रसारको आज अन्तिम दिन बसपार्कमा मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै उम्मेदवार चापागाईंले बसपार्क क्षेत्रमा भएको जग्गाको समस्या समाधानमा भूमिका खेल्ने बताएकी हुन् ।
बसपार्कको समस्या समग्र राष्ट्रिय समस्या भएको बताउँदै उनले आफु निर्वाचित भए सदनमा बसपार्कको जग्गा समस्याको बारेमा आवाज बुलन्द बनाउने बताइन् । ‘म बसपार्क क्षेत्रको जग्गा समस्याको बारेमा राम्रो जानकार छु,’ उनले भनिन्, ‘हातमा धनिपूर्जा बोकेर अपराधी झैं बन्नु परेको तपाईहरुको अवस्थाबाट बाहिर ल्याउन शतिसाल भएर खडा हुन्छु ।’ बसपार्क क्षेत्रको ५१ विगाहा जग्गालाई गिरीबन्धु चिया बगान प्रकरणसँग जोडेर किनबेच रोक्का राखिएपछि त्यहाँ रहेको ५०१ परिवार र सयौँ जग्गाधनी अन्योलमा परेका छन् ।
र्यालीले झापा क्षेत्र नं. २ का वडाहरु परिक्रमा गर्नुका साथै कोणसभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै चापागाईले क्षेत्र नम्बर २ का जनतासँगको प्रत्यक्ष भेटघाटपछि आफू उत्साहित भएको बताईन ।