इरान र इजरायल भ्रमण नगर्न सरकारद्वारा एड्भाइजरी जारी
झापा । मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्नसमेत शनिबार एक एड्भाइजरी जारी गर्दै आग्रह गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायल र इरानमा रहेका नेपालीहरूलाई त्यहाँका सम्बन्धित सरकारी तथा सुरक्षा निकायले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ ।
नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, चनाखो रहन, आवश्यक सावधानी अपनाउन र आफू रहेको क्षेत्रका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाइएको छ । यसका साथै, स्थानीय अधिकारीको पूर्व स्वीकृति बिना कुनै पनि यात्रा नगर्न मन्त्रालयले सचेत गराएको छ ।
यसैगरी, रोजगारी वा अन्य कुनै प्रयोजनका लागि इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकलाई दुवै देशको अवस्था सामान्य नभएसम्मका लागि आफ्नो यात्रा योजना तत्काल स्थगित गर्न मन्त्रालयले कडा सुझाव दिएको छ ।
मध्यपूर्वका अन्य देशहरूमा बसोबास गर्ने तथा कार्यरत नेपालीहरूलाई पनि विकसित घटनाक्रमको निरन्तर निगरानी गर्न र सम्बन्धित देशका अधिकारीहरूले सुझाएका पूर्वसावधानीका उपायहरू अपनाउन आग्रह गरिएको छ ।
कुनै पनि आपत्कालीन अवस्था आइपरेमा वा आवश्यक जानकारी तथा समन्वयका लागि मन्त्रालयले सम्पर्क विवरणहरूसमेत सार्वजनिक गरेको छ । नागरिकहरूलाई काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अविवस्थित नेपाली राजदूतावास र कतारको दोहास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रहन अनुरोध गरिएको छ ।