२०८३ बैशाख ६ गते , आईतबार

रञ्जित तामाङले गरे झापा ५ को विकासको मार्गचित्र सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ११ गते , सोमबार
रञ्जित तामाङले गरे झापा ५ को विकासको मार्गचित्र सार्वजनिक

बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रन्जित तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासको मार्गचित्र सम्बन्धि दृष्टिकोण पत्र सार्वजनिक गरेका छन् ।
तामाङले झापा क्षेत्र नम्बर ५ को शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, कृषि र सार्वजनिक प्रशासनलाई समेटेर दृष्टिकोण पत्र सार्वजनिक गरेका हुन् ।
सो क्षेत्रको ८७ वटा सामुदायिक विद्यालयलाई डिजिटल कक्षा र तालिम प्राप्त शिक्षक मार्फत अभिभावकको पहिलो रोजाइको सामुदायिक विद्यालय बनाउने तामाङको दृष्टिकोण पत्रमा उल्लेख छ । दमकलाई शैक्षिक हबको रूपमा विकास गर्न दमक बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने दीर्घकालीन सोच तामाङले राखेका छन् ।
स्वास्थ्य क्षेत्र अन्तर्गत विश्वकै अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न अस्पताल र मानसिक अस्पताल तथा आयुर्वेदको प्रवर्धन गरिने दृष्टिकोण पत्रमा उल्लेख छ।
दृष्टिकोण पत्रमा कृषिमा जोखिम न्यूनीकरणका निमित्त बिउ तथा मल न्यूनतम मूल्यमा उपलब्ध गराउने र उत्पादित वस्तुको बजारको ग्यारेन्टी राज्यले गर्नेगरी कृषिलाई नाफामूलक बनाउने, झापा क्षेत्र नम्बर ५ मा पाँच वर्षभित्र पूर्वाधार विकासलाई तीव्रता दिन र स्थानीय आवश्यकता पूरा गर्न १७० वटा साना ठूला आयोजना सम्पन्न गर्ने, भ्रष्टाचारमुक्त डिजिटल प्रशासन विकास गर्नका निमित्त सार्वजनिक सेवालाई पूर्ण रुपमा डिजिटल बनाउने र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू गर्ने  उल्लेख छ ।
तामाङले आफ्नो दृष्टिकोण पत्रमा तीनवटा मूलभूत बुँदाहरूलाई समेटेका छन् । उनले पहिलो नम्बरमा रोजगारी समेटेका छन् भने सीपमूलक तालिम स्टार्टअप सहयोग र बेरोजगारी भत्ताको व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै पूर्वाधार अन्तर्गत पुराना संरचनाको सदुपयोग तथा नयाँ आयोजनाहरूको व्यवस्था गर्ने दृष्टिकोण पत्रमा समेटेका छन् । अन्तिम र महत्त्वपूर्ण बुँदाको रूपमा उल्लेख गरिएको राजनीतिक अडान अन्तर्गत प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा सदैव उभिने तामाङले दृष्टिकोण पत्रमा समेटेका छन् । 

सम्बन्धित समाचार