२०८३ बैशाख ५ गते , शनिबार

गौरमा कर्फ्यू कायमै, सर्वपक्षीय बैठक बस्ने तयारी

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १० गते , आईतबार
गौरमा कर्फ्यू कायमै, सर्वपक्षीय बैठक बस्ने तयारी

झापा । गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय रौतहटले हिजोदेखि लगाएको कर्फ्यु आदेश आज पनि जारी राखेको छ । प्रशासनले जारी सूचनाअनुसार आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यु केही खुकुलो बनाइए पनि पुनः पूर्ववत कर्फ्यु कायमै रहेको जनाएको छ । 
घटनापछि भारत–नेपाल सीमामा समेत कडाइ गरिएको छ । सीमा क्षेत्रमा बेरियर लगाइ गाडी आवागमन पूर्णरूपमा रोकिएको छ । नेपाली क्षेत्रबाट भारत प्रवेश गर्दा आधार कार्ड र भारतबाट नेपाल प्रवेश गर्दा नेपाली नागरिकता देखाउनुपर्ने प्रावधान लागू गरिएको छ ।सदरमुकाम गौरमा पुनः त्यस्तो घटना दोहोरिन नदिन ठाउँ ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
साम्प्रदायिकता फैलाउन भूमिका खेलेको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैदसहित २० जनालाई रौतहट प्रशासनले नियन्त्रणमा लिएको जनाएको छ । निर्वाचनको समयमा समाजमा अशान्ति फैलाउने र धार्मिक सद्भावमा खलल पुर्‍याएको आरोपमा जमसैदलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो। दंगा शान्त भएपछि मात्र उनलाई छाडिने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आदेशपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जमसैदलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा उपस्थित गराएको प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।
प्रवक्ता बस्यालका अनुसार जमसैदसँग आवश्यक सोधपुछ भइरहेको छ र घटनामा उनको संलग्नता कति छ भन्नेबारे उपलब्ध प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान जारी छ। सबगढा गाउँका पूर्व वडाध्यक्षसमेत रहेका जमसैद जनमत पार्टीका जिल्ला अध्यक्ष हुन् ।
यसै क्रममा गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सबगढामा सुरु भएको साम्प्रदायिक तनाव मत्थर पार्नुको साटो झन् भड्काएको आरोपमा वडाध्यक्ष साहलाई नियन्त्रणमा लिइएको हो ।
बिहीबार रातिको घटनापछि शुक्रबार बिहानदेखि दिउँसोसम्म भएको उपद्रवपश्चात् शुक्रबार अपराह्न दुवै समुदायबिच प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो । तर सहमति विपरीत शनिबार बिहानैदेखि योजनाबद्ध रूपमा दुवै पक्षबिच तनाव सिर्जना गर्ने अडियो क्लिपहरू बाहिरिएपछि अवस्था पुनः उग्र बनेको थियो ।
शनिबार भएको झडपपछि अवस्था थप तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५०० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको नेतृत्वमा सुरक्षा परिचालन गरिएको थियो ।
दुई पक्षबिच ढुंगामुढा हुँदा शनिबार ६ जना घाइते भएको डीएसपी बस्यालले बताए । उनका अनुसार प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउन्ड हवाई फायर र ७९ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा एक भारतीय नम्बरको स्कार्पियो, एक ई–रिक्सा र पाँच मोटरसाइकलमा आगजनी गरिएको छ भने एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ ।
आज आईतवार जिल्ला प्रशासन कार्यालयले केहीबेरमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार