पत्रकार महासंघ झापा शाखा पुरस्कृत
बिर्तामोड । समाजमा सकारात्मक सन्देश प्रवाह र पत्रकारको दीगो हितमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखालाई नगद ५१ हजारसहित यस वर्षको श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
शनिबार इलामको रोङ गाउँपालिका–५ इरौंटार, पाखागाउँमा आयोजित समारोहका बिच पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान बुद्धशान्ति–५द्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, भुर्तेल परिवारका सदस्यहरुले सामुहिक रुपमा पत्रकार महासंघलाई उक्त सम्मान समर्पण गरेका थिए ।
पत्रकार महासंघ झापा शाखाले २०८१ बैशाख ३ गते एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको पत्रकार सहारा उपचार अक्षयकोष घोषणा गरी पत्रकारको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको जनाइएको छ ।
‘पत्रकारिताको क्षेत्रमा समर्पित यस संस्थाले अत्यन्त सराहनीय कार्य गर्दै नेपाल पत्रकार महासंघ झापालाई कोसेढुंगाको रुपमा स्थापित गर्न सफल रहेकोले श्री पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्वारा स्थापित नवौं श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८२ द्वारा सम्मानित एवम् पुरस्कृत गर्न पाउँदा हामी गौरवान्वित छौं’, सम्मान पत्रमा भनिएको छ ।
२०४६ साल पुस ९ गते स्थापित पत्रकार महासंघ झापाले समाजलाई सु–सूचित गर्दै पत्रकारहरुको भलाइको निम्ति महत्वपूर्ण कार्य गर्दै आएको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो । पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारहरु बिरामी तथा घाइते हुँदा उपचार खर्च, सुत्केरी राहत, सदस्यका परिवारमा मरिमराउ हुँदा सरहे सहयोग तथा ६५ वर्ष माथिका ज्येष्ठ पत्रकारलाई उक्त अक्षयकोषको ब्याजबाट वार्षिक वृत्र् िप्रदान गरिँदै आएको महासंघ झापाका अध्यक्ष गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार उक्त पुरस्कार रकमसहित कोषमा अब एक करोड २० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।