२०८३ बैशाख ६ गते , आईतबार

निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाबारे अन्तरक्रिया सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १ गते , शुक्रबार
निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाबारे अन्तरक्रिया सम्पन्न

बिर्तामोड । झापामा निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाबारे अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार झापाको चन्द्रगढीमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया आयोजना गरिएको हो ।
निर्वाचनको मिति आउन २० दिन बाँकी छँदै निर्वाचन सम्बन्धी अधिकांश तयारी पूरा भइसकेको जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले जानकारी दिए । झापामा ७१३५३७ जना मतदाता रहेको र २५ मतदान स्थलहरूमा ८१५ मतदान केन्द्र कायम गरिएको नेपालले बताए । मतदान केन्द्रमा खानेपानी, बिजुली, शौचालय लगायतका भौतिक पूर्वाधारहरूको स्थलगत अनुगमन गरिसकिएको समेत उनले जानकारी दिए। मतदान केन्द्रमा प्रयोग हुने सामग्रीहरू तयार भइसकेको र मतदान केन्द्रमा पठाउनका निमित्त तयारी गरिरहेको नेपालले जानकारी दिए ।
निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षाका लागि स्वयंसेवकहरुलाई घरदैलोमा परिचालन गरिने र स्वयंसेवकहरुले गरेका कामको अनुगमनका लागि पालिकाहरुमा मतदाता शिक्षा अनुगमनकर्ताको व्यवस्था गरिएको नेपालले बताए ।
नेपालका अनुसार मतदान केन्द्रमा पुगेका मतदाताहरूलाई सुरुमा सेतो पृष्ठभूमि भएको कागजमा रातो मसीद्वारा लिखित प्रत्यक्ष तर्फको मतपत्र र त्यसपछि सेतो पृष्ठभूमि भएको कागजमा कालो मसीले लेखिएको समानुपातिक तर्फको मतपत्र दिईनेछ ।
कार्यक्रममा बोल्दै आचारसैंहि अनुगमन समितिको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले निर्वाचनको मिति अगाडि कुनै पनि संघसंस्थाले सभा, वार्षिकोत्सव जस्ता सभा सम्मेलन नगरिदिन आग्रह गरे । फागुन ४ गतेबाट १८ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने घरदैलो तथा कोणसभा कार्यक्रम अन्तर्गत जुलुस, कोणसभा गर्नका निमित्त २४ घण्टा अगावै स्थान, रुट आदिको बारेमा जानकारी गराउनुपर्ने उनले बताए । त्यस्ता कोणसभा तथा जुलुस गर्दा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र गर्न पाइने, राजनीतिक दलहरूले प्रचारप्रसारका क्रममा १० वटा सम्म राजनीतिक दलको र १० वटासम्म राष्ट्रिय झण्डा तथा एउटा फ्लेक्स मात्र प्रयोग गर्न पाइने, राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने तथा घरदैलो कार्यक्रममा उम्मेदवार र तीनका प्रस्तावक तथा समर्थक समेत गरी बढीमा २५ जना मात्र सहभागी हुन पाइने सहायक प्रजिअ प्रसाईले जानकारी दिए ।
जुलुसमा झाकी लिएर हिँड्न नपाइने, बालबालिकाको प्रयोग गर्न नपाइने, दुईवटा भन्दा बढी गाडी प्रयोग गर्न नपाइने, पर्चा निर्माण गर्दा ७५ ग्राम सम्मको कागज र ३०० वर्ग इन्ज भन्दा ठूलो पर्चा हुन नहुने जानकारी दिँदै सहायक प्रजिअ प्रसाईले यदि उक्त आचारसंहिता उल्लङ्घन गरे तत्काल कारबाही गरिने चेतावनी समेत दिए।
कार्यक्रमका अध्यक्षसमेत रहेका नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले पत्रकार तथा सञ्चार संस्थाहरूले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जानकारी गराएका थिए पत्रकारहरूले समाचार प्रकाशन प्रसारण गर्दा तटस्थताको सिद्धान्त अपनाउनुपर्ने, कुनै एकमात्र उम्मेदवारलाई जिताउने ढङ्गबाट एक पक्षीय समाचार प्रकाशन प्रसारण गर्न नपाइने,  सञ्चारमाध्यममा प्रकाशन प्रसारण गरिने दल तथा उम्मेदवारको विज्ञापनमा सशुल्क उल्लेख हुनपर्ने र निःशुल्क प्रकाशन तथा प्रसारण गर्न नपाइने आदि आचारसंहिताको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले राखेको प्रश्नको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जवाफ दिएका थिए ।
जिल्ला निर्वाचन कार्यालय झापा, संवाद समूह र पत्रकार महासङ्घ झापाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा झापाका चारवटा क्षेत्रका निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुखहरू, कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव राजु पाठकले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार