विवाहमा श्रीमतीलाई बीमा पोलिसी उपहार
इलाम । इलाम नगरपालिका ५ भोर्लेनी निवासी नारायण श्रेष्ठले विवाहको अवसरमा श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । मङ्गलबार विवाहबन्धनमा बाँधिएका श्रेष्ठले बुधबार प्रीतिभोजको दिन श्रीमती सुजता लुङ्गेली (युना)लाई हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी उपहार दिएका हुन् ।
हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीका सक्रिय अभिकर्तासमेत रहेका श्रेष्ठले सुजतालाई १० लाखको सावधिक जीवन बीमा पोलिसी उपहार दिएका हुन् । श्रेष्ठले अन्य उपहार भन्दा जीवनभर सुरक्षा र बुढेसकालका लागि बचत हुने भएकाले बीमा पोलिसी उपहार दिएको बताए । उनले विभिन्न अवसरहरूमा गरिने अनावश्यक खर्च र उपहारको साटो बीमा पोलिसी उपहार दिन सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा हिमालयन लाईफ इन्स्योरेन्स इलाम शाखा प्रमुख देविका वस्ती, मार्केटिङ स्टाफ कमल आचार्य र एमडीआरटी सागर रिजालको उपस्थिति रहेको थियो ।