४५ प्रतिशत चालक लापसे गरेको अवस्थामा फेला
बिर्तामोड । लागूपदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको डरलाग्दो तथ्याङ्क फेला परेको छ । बुधबार झापाको काँकरभिटामा गरिएको लागूपदार्थ सेवन चेकजाँचको क्रममा ४४.८२ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेको पाइएको हो ।
झापामा सवारी साधन दुर्घटना हुने क्रम बढे पछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचलाई कडा बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । सवारी साधन दुर्घटनाका कारणहरूमध्ये लागूपदार्थ सेवन गरेर सवारी चलाउनु पनि एउटा कारण भएको उनले बताए ।
भाडाका सवारी साधन, तीनपाङ्ग्रे सवारी साधन र मोटरसाइकल चालकहरूमध्ये शङ्का लागि २९ जना चालकलाई चेकजाँच गरिएकोमा दुई महिलासहित १३ जना चालकमा लागूपदार्थ पोजेटिभ देखिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
झापाको काकरभिटा स्थित सिमानाका मेची पुलमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजना तथा लायन्स क्लब अफ मेचीनगर र मेचीनगर आधारभुत अस्पताल झापाको सहकार्यमा सो चेकजाँच गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।
सडकको र सवारी साधनको प्राविधिक अवस्था मात्र दुर्घटनाका कारण नभई चालकको व्यक्तिगत कारण पनि दुर्घटना हुने गरेको छ । चालकको मानसिक अवस्था, तनाव, लागूपदार्थ तथा मादक पदार्थ सेवनले दुर्घटनामा ठूलो भूमिका खेल्ने भएकाले सो को नियन्त्रणमा प्रहरीले कडाई गर्न शुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।