खेत जोतिरहेको अवस्थामा गोली हानी हत्या
झापा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्रयाक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।
यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी दिँदै वडाध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए ।
‘मैले पनि कसैले गोली दागेर हत्या गरेको भन्ने कुरा सुनेको छु । घटनाबारे थप बुझ्दै छु । अस्पतालतर्फ जाँदै छु,’ उनले भने ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले पनि प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए ।
तर कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।