सुनचाँदीको मूल्य आकाशिनुका यस्ता छन् कारण
बिर्तामोड । आईतबार नेपाली बजारमा छापावाला सुन प्रति तोला ३ लाख तीन हजार आठ सय र चाँदी प्रति तोला ६ हजार ४८० रुपैयामा कारोबार भयो । यो इतिहास कै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा दैनिक सुनको भाउ बढेको कारण नेपाली बजारमा यसको असर परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रच्नुमा
ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बिच बढेको तनावलाई कारकको रुपमा हेरिएको छ । यसले विश्वमा वित्तीय र भू–राजनीतिक अनिश्चय थपेको छ । यही अनिश्चयका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिले पनि बजारलाई थप सशङ्कित बनाएको छ । शनिबार मात्रै राष्ट्रपति ट्रम्पले यदि क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका थिए ।
वित्तीय तथा राजनीतिक अस्थिरताको समयमा सुन तथा अन्य बहुमूल्य धातुलाई ‘सुरक्षित लगानी’ का रूपमा लिने गरिन्छ । सोही कारण लगानीकर्ताहरू डलर वा सेयर बजारभन्दा सुनमा लगानी सुरक्षित ठानिरहेका छन् । सुनको माग बढ्नुमा अन्य कारणहरू पनि जिम्मेवार छन् ।
यसका अलावा युक्रेन र गाजामा जारी युद्ध तथा वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाले सिर्जना गरेको तनावले पनि सुनको मूल्य बढाउन मद्दत गरेको छ ।
सुनसँगै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार चाँदीको मूल्य पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको छ । गत वर्ष चाँदीको मूल्यमा करिब १५० प्रतिशतको भारी वृद्धि देखिएको थियो ।