झापामा २ जनामात्र जेन जी उम्मेदवार, हिरण्यप्रसाद सबैभन्दा ज्येष्ठ
बिर्तामोड । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यमा झापाबाट २ जना मात्र जेन जी उम्मेदवार बनेका छन् । आज सम्पन्न मनोनयनमा २ जना मात्र जेन जी उमेर समूहकाले उम्मेदवारी दिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा कम उमेरका २७ वर्षीय सुशान्त साम्पाङ राईले मनोनयन दर्ता गराएका छन् । दमक ९ निवासी श्यामकुमार र उषाकला राईका छोरा सुशान्तले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, अर्का २८ वर्षीय साजन माझीले झापा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका छन् । कन्काई नगरपालिका वडा नम्बर ४ निवासी टंक बहादुर र निर्मला माझीका छोरा साजनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्यस्तै मेचीनगर १ निवासी ८३ वर्षीय हिरण्यप्रसाद भट्टराईले झापा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। उनी झापाका उम्मेदवारहरूमध्ये सबैभन्दा जेष्ठ उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । उनले नेपाल मजदुर किसान पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै दोस्रो जेष्ठ उम्मेदवार अर्जुनधारा एक निवासी ७५ वर्षीय मानबहादुर पुलामी रहेका छन्। उनले झापा क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमालेका अध्यक्ष ७४ वर्षीय केपी शर्मा ओली तेस्रो जेष्ठ उम्मेदवार बनेका छन्।
झापा क्षेत्र नम्बर ३ मा जनमत पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका हरसलाल राजवंशी ७१ वर्षका छन् । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका देवराज घिमिरे ६९ वर्ष र झापा क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका रामचन्द्र उप्रेती ६७ वर्षका छन् । उप्रेतीले नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका हुन् ।
जेन जी उमेर समूह बाहेक सबैभन्दा कान्छी २९ वर्षीया निशा डाँगीले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएकी छन् ।