प्रविधिमैत्री बन्दै अदालत : झापाबाट धनकुटा इजलासमा पहिलो पटक भर्चुअल बहस
बिर्तामोड । उच्च अदालत विराटनगर-धनकुटा इजलासमा झापा जिल्ला अदालतबाट आज पहिलो पटक भर्चुअल बहस (श्रव्यदृश्य सुनुवाइ) भएको छ ।
धनकुटा इजलासका माननीय न्यायाधीश कृष्णलाल भट्टराई र मिना गौतम सेढाईको संयुक्त इजलासमा झापा बार महिला समिति अध्यक्ष एवं झापा बारकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले झापा जिल्ला अदालतको अनलाइन बहस कक्षबाट भर्चुअल बहस गरेकी हुन ।
पक्ष र कानुन व्यवसायीहरु इजलास समक्ष प्रत्यक्ष भौतिक उपस्थिति बिना हुने श्रव्यदृश्य सुनुवाई (भर्चुअल बहस) कोभिड १९ महामारीको समयमा सर्वोच्च र उच्च अदालतहरुमा व्यापक अभ्यासमा ल्याइएको थियो। विशेषगरी जिल्ला अदालतबाट उच्च अदालत टाढा हुँदा समय र खर्च पनि बढी लाग्ने हुँदा त्यस्ता जिल्लालाई प्राथमिकता दिँदै अनलाइन बहसको सुरुवात गरिएको थियो ।
प्रचलित कानुनबमोजिम जारी गरिने पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जीको स्वीकृति, हिरासतमा वा निगरानी कक्षमा राख्ने आदेश, थुनछेकसम्बन्धी कार्य, बयान, बकपत्र र बहस पैरवी नेपालभरमा जहाँबाट पनि उच्च अदालतहरुमा श्रव्यदृश्य (भर्चुअल) मार्फत बहस गर्न सकिने ब्यबस्था छ ।