झापा ४ मा नेकपाले अघि सार्यो युवा नेता चुडाललाई
बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टीले झापा क्षेत्र नम्बर ४ मा युवा नेता पुरुषोत्तम चुडाल (राजु)लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तीन दशकदेखि राजनीतिमा सक्रिय चुडाललाई पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको हो ।
को हुन् पुरुषोत्तम चुडाल (राजु) ?
ताप्लेजुङको साविक फूलबारी गाविस वडा नम्बर ५ मा ४३ वर्ष अघि जन्मिएका चुडाल २०५८ सालदेखि झापाको कनकाईमा बसोबास गर्दै आएका छन् । २०५० सालदेखि विद्यार्थी राजनीतिमा संलग्न भएका उनी २०५४ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै अखिल क्रान्तिकारीमा आवद्ध भएका थिए ।
चुडाल २०५५ साल फागुन २९ गते माओवादीको एरिया सदस्य भएसगै पार्टीको पूर्णकालीन कार्यकर्ता भएका थिए। २०६० सालमा तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेका चुडाललाई ११ महिनासम्म सैनिक हिरासतमा राखेर बेपत्ता बनाएको थियो । आतङ्ककारीको बिल्ला भिराउदै शाही नेपाली सेनाले २०६१ कार्तिकमा जेल चलान गरेका उनलाई २०६३ को जनआन्दोलन सफल भएसगै रिहाई गरिएको थियो ।
२०६६ सालबाट पार्टीको केन्द्रीय सदस्य बनेका उनले झापा इन्चार्जको जिम्मेवारी समेत सम्हालिसकेका छन् । २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार बनेका चुडाल त्यस यता पार्टीको विभिन्न जिम्मेवारी सगै सामाजिक गतिविधिमा सक्रिय छन् । गौरीशंकर खड्का स्मृति प्रतिष्ठानका अध्यक्षको रुपमा उनले कुशलतापूर्वक कार्यसम्पादन गरिरहेका छन् । मुलुकमा संघीयता, गणतन्त्र ल्याउन र समृद्धितर्फ अगाडी बढाउन सक्रिय भूमिका खेलेका चुडालले आगामी निर्वाचनमा विजयी गराई झापा ४ को मुहार फेर्ने अवसर प्रदान गर्न सम्पूर्ण मतदातालाई हार्दिक आग्रह र अपिल गरेका छन् ।