धरान बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो (नामावलीसहित)
झापा । धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा को १ ख ७११९ नम्बरको स्कुल बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा झापाको मेचीनगर नगरपालिका निवासी १९ वर्षीय नयन थापा मगर (मेडिकलमा रहेका), महोत्तरीको गैडादेवपुर–८ बस्ने रोहित कुमार मण्डलका १८ महिने छोरा रिसब कुमार मण्डल (बसमा सवार), सोही स्थानका ३१ वर्षीय धैरिया कुमार यादव (बसमा सवार), सुनसरी बराहक्षेत्र नगरपालिका–३ का २० वर्षीय ओमेश राई (मेडिकलमा रहेका) र धरान–१३ की २४ वर्षीया सुवेक्षा सुब्बा (मेडिकल सञ्चालिका) रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा बस पश्चिमतर्फ रहेको न्यू सबा मेडिकल हलमा ठोक्किएको खड्काले जानकारी दिए।
उनका अनुसार जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारीका लागि आएको उक्त बस भेडेटार घुम्न जाने क्रममा डिजेल सकिएपछि फर्काउने प्रयास गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
‘प्रारम्भिक जानकारीअनुसार उक्त बस स्कुलको भन्ने भएपनि विद्यार्थी सवार थिएनन्,’ डीएसपी खड्काले भने।
प्रहरीका अनुसार धनुषा जनकपुर उपमहानगरपालिका–१२ की २५ वर्षीया रिना मण्डल, धनौडी गाउँपालिका–२ का ३८ वर्षीय जितेन्द्र मण्डल, महोत्तरी मठ्ठीपानी गाउँपालिका–४ का २५ वर्षीय महमद मुलाल (बस चालक), जनकपुर उपमहानगरपालिका–१ की ४० वर्षीया सुनेना देवी मण्डल र जनकपुर–५ का २० वर्षीय कृष्ण मण्डल घाइते भएका छन् ।
उनीहरूको अवस्था गम्भीर रहेको छ ।
यस्तै, जनकपुर–५ की २३ वर्षीया लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, जनकपुर–४ की ४० वर्षीया मनिता देवी मण्डल, ३० वर्षीया पुनिता मण्डल तथा धरान–१३ की ४३ वर्षीया यशोदा श्रेष्ठ (मेडिकलमा कार्यरत) को अवस्था मध्यम रहेको छ ।
जनकपुर–२५ का २४ वर्षीय रोहित मण्डल र जनकपुर–१ का २४ वर्षीय रोहन मण्डलको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।