ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडी सवार श्रीमती गम्भीर घाइते
बिर्तामोड । बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रीमानको मृत्यु भएको छ भने पछाडी सवार श्रीमती गम्भीर घाइते भएकी छन् ।
बिहीबार (हिजो) साँझ ७:५० बजे बिर्तामोड ५ सिटी सेन्टरस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक हल्दिवारी ४ बस्ने बर्ष ३२ का खगेन्द्र मगर र सोही मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती बर्ष २५ की सुकमाया तामाङ गंभीर घाइते भएका थिए ।
दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा मोटरसाइकल चालक मगरको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय र मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ । ट्रक चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।