माफी मागेपछि छुटे राजवंशी
बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सार्वजनिक रुपमा अपशव्द प्रयोग गरेका कारण पक्राउ परेका अभय भनिने वरुण राजवंशीलाई छुटेका छन् ।
अब आइन्दा त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि उनलाई आज रिहा गरिएको हो । अबदेखि त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । त्यस विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल राखिएको थियो । जिल्ला प्रशासन कार्यालयमा मौखिक माफी मागेका राजवंशीले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेको प्रहरीले जनाएको छ ।
पुस २९ गते बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा नवौं राष्ट्रिय भाक्का दिवस कार्यक्रम आयोजना गरी राजवंशीले प्रमुख जिल्ला अधिकारी माथि आपत्तिजनक अभिव्यक्ति दिएका थिए । गएराति १०:३० बजे बिर्तामोडस्थित नाइटलाईफ डान्सबारबाट प्रहरीले राजवंशीलाई पक्राउ गरेको थियो ।