सभामुख घिमिरेले सुनाए तीन वर्षे कार्यकालको फेहरिस्ता
२१२२ परिवारमा समवेदना पत्र पठाएँ
बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफूले तीन वर्षे कार्यकालमा गरेका कामहरूको फेहरिस्ता सार्वजनिक गरेका छन् । आज झापाको बिर्तामोडस्थित बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी घिमिरेले आफ्नो प्रगति विवरण सुनाएका हुन् ।
नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं २ बाट सांसद बनेका घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा तीन वर्षमा ३२३ वटा योजनाहरू संघीय सरकारमार्फत् सञ्चालन गरेको बताए । सो अवधिमा ५ अर्व ४९ करोड ९३ लाख रुपैया बराबरको बजेट विनियोजन गरिएपनि ठेक्का ननिस्कने निस्केकोपनि कम मुल्यमा विडिङ हुने र त्यसमा पनि निर्धारित समयमा सम्पन्न नगर्दा बजेट फ्रिज हुने आदि कारणले समग्रमा ५० प्रतिशत बजेट मात्र खर्च भएको देखिएको उनले जानकारी दिए ।
आफू सभामुखमा निर्वाचित भएपछि आफै उपस्थित नभएपनि सुने सम्म र जानकारी पाएसम्म यो क्षेत्रका मृत्युका २१२२ दुखद घटनामा श्रद्धाञ्जली/ समवेदना पत्र पठाएको र यसबाट आफूले धन्य महशुस गरेको सभामुख घिमिरेले बताए ।
अबको निर्वाचनमा कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने पत्रकारको प्रश्नमा सभामुखको कार्यकाल माघ ५ गतेसम्म रहने र सो अवधिसम्म आगमफु कुनै दलको सदस्य नरहने भएकाले अहिले कुनै निर्णय नभएको घिमिरेले बताए ।