लागूऔषध मुद्धाका अभियुक्तले भरियो झापाको हिरासत
बिर्तामोड । झापा प्रहरीको हिरासत लागूऔषध मुद्धाका अभियुक्तले भरिएको पाइएको छ । जिल्लाका विभिन्न हिरासतमा ६४ प्रतिशत लागूऔषध मुद्धाका थुनुवा रहेको पाइएको हो ।
पुष २५ गतेको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनी, दमक, काँकरभिट्टा, धुलाबारी, झिलझिले र गौरीगञ्जमा ११४ जना थुनुवा रहेकोमा ७३ जना लागूऔषध मुद्धाका थुनुवा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा ३२ जना, इलाका प्रहरी कार्यालय अनारमनीमा १३ जना, दमकमा १५ जना, काँकरभिट्टामा ९ जना, धुलाबारीमा ३ जना, झिलझिलेमा १ जना लागूऔषध मुद्धाका अभियुक्त थुनामा रहेको जिल्ला प्रहरी कायालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
भारतसँगको खुला सीमा नाकाका कारण झापाका विभिन्न स्थानबाट दैनिक लागूऔषध नेपाल भित्रिने गरेको छ । काँकरभिट्टामा लागूऔषध नियन्त्रण व्युरो नै राखेर प्रहरीले दैनिक जसो ओसारपसार र सेवनमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ । प्रहरीले लागूऔषध भित्र्याउन कडाई गरेपनि ठूलो संख्यामा युवाहरु लागूऔषधको कुलतमा फसिरहेका छन् ।