फेरिए कोशी प्रदेश सरकारका मन्त्रीहरु
बिर्तामोड । कोशी प्रदेशका मन्त्रीहरु फेरिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ । सरकारमा दुवै दलबाट समान ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सहभागी छन् ।
सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले नेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन् ।
विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।