सिलीगुडी–चारआली पेट्रोलियम परियोजना निर्माण प्रक्रिया सुरु
झापा । नेपाल आयल निगमले सिलीगुडी–चारआली अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माणका लागि प्रक्रिया सुरु गरेको छ । ११ अर्ब १४ करोड ६१ लाख ३६ हजार नेपाली रुपैयाँ लागतमा भारत सरकारको सहयोगमा निर्माण हुने यस आयोजनाका लागि निगमले अहिले सबैभन्दा महत्त्वपूर्ण चरण, जग्गा व्यवस्थापन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अगाडि बढाएको छ ।
गत डिसेम्बर ८ मा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूह (जोइन्ट वर्किङ ग्रुप)को पाँचौँ बैठकमा पेट्रोलियम पाइपलाइन विस्तार तीव्र बनाउनेबारे छलफल भएको थियो । सोही अनुसार निर्माणलाई तीव्रता दिइएको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पाइपलाइन तथा इन्धन भण्डारण गृह निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन (ल्यान्ड डेभलपमेन्ट) का लागि ठेक्का आह्वान गरिएको छ ।
‘चारआलीमा रहेको निगमको जग्गामा डिपो निर्माण हुने र पाइपलाइन बिछ्याउने स्थितिमा ल्यान्ड डेभलपमेन्ट गर्नका लागि ठेक्का आह्वान गरेका छौँ । अबको केही दिनभित्रमा ठेक्का लगाउँछौँ,’ ठाकुरले भने, ‘जग्गा डेभलपमेन्टको काम सकिएपछि पाइपलाइन निर्माणका लागि एनओसीको प्राविधिक टोलीलाई हस्तान्तरण गर्छौँ ।’
निगमले भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तारका लागि २)८) फागुन ३) गते झापाको मेची नगरपालिका–१३ स्थित चारआलीमा २३ बिघा ३ कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा भारतको सिलीगुडीदेखि पाइपलाइन मार्फत ल्याइएको पेट्रेलियम पदार्थ भण्डारणका लागि पूर्वाधार निर्माण गरिनेछ ।
निगमले ९ महिनाभित्र जग्गा डेभलपमेन्टको काम पूरा गरी निर्माण कार्य अगाडि बढाउन आईओसीलाई हस्तान्तरण गर्नुपर्ने प्रवक्ता ठाकुरले बताए । यसपछि पाइपलाइन बिछ्याउने र ग्रिनफिल्ड टर्मिनल निर्माण सुरु गरिने उनको भनाइ छ । अहिले निगमले पाइपलाइन निर्माण गर्ने स्थानमा ‘राइट अफ वे’ क्लियरेन्सलाई तीव्र बनाएको प्रवक्ता ठाकुरले बताए । साथै, पाइपलाइन र भण्डारण निर्माणस्थलमा कति रुख कटान गर्नुपर्छ भन्नेबारे अहिले ईआईए अध्ययनपछि थाहा हुने उनले बताए ।
कति क्षमताको बन्दैछ इन्धन भण्डारण ?
झापाको मेचीनगर नगरपालिका–१३, चारआलीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि छुट्याएको २३ बिघा ३ कट्ठा १३ धुर जग्गामा १९ हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गरिने निगमले जनाएको छ । भण्डारण गृह अत्याधुनिक अटोमेसन प्रविधियुक्त लोडिङ–सेडिङसहितको ग्रीनफिल्ड स्मार्ट टर्मिनलको हुनेछ । जसमा ६ हजार ६०० किलोलिटर क्षमताको पेट्रोल भण्डारणका लागि २ हजार २०० किलोलिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिनेछ । ती ट्यांकीको कुल क्षमता १२ हजार ३ सय किलोलिटर हुनेछ । जसमा ४ हजार १०० किलोलिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिनेछ ।
सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत पाइपलाइनको दूरी भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटरको हुनेछ । जसमा सिलीगुडीको आईओसीको डिपोदेखि नेपालको बोर्डरसम्म ३५ किलोमिटर रहेको छ भने बोर्डरबाट चारआलीसम्म १५ किलोमिटर छ । पाइपलाइन बिछ्याउन २ अर्ब ६७ करोड बराबर भारतीय रुपैयाँ र भण्डारण गृहसहितको टर्मिनल निर्माणका लागि ४ अर्ब २९ करोड भारतीय रुपैयाँ भारत सरकारले बेहोर्ने बीटुबीमा उल्लेख छ ।
पाइप लाइन निर्माणका लागि निगम र आईओसीबिच २०८१ असोज १७ गते (२०२४ अक्टोबर ३) नयाँ दिल्लीमा बिजनेस टु बिजनेस (बीटुबी) सम्झौता भएको थियो । त्यसबेला आन्तरिक पेट्रोलियम पाइपलाइन (अमलेखगञ्ज–चितवन) निर्माणका लागि पनि सम्झौता भएको थियो । एक वर्षअघि सम्झौता भएपनि विभिन्न प्रक्रियागत ढिलाइका कारण निर्माण अघि बढ्न सकेको थिएन ।