२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस-एमाले गठबन्धनका कारण मुलुकमा संकट : सर्वेन्द्र खनाल

sajilo news
परिवेश मिडिया
२०८२ पौष १० गते , विहीबार
कांग्रेस-एमाले गठबन्धनका कारण मुलुकमा संकट : सर्वेन्द्र खनाल

बिर्तामोड । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले मुलुकलाई आर्थिक विकासतर्फ डोर्याउन नसकेको आरोप लगाउँदै मुलुक संकटमा रहेको बताएका छन् । उनले आज झापाको बिर्तामोडमा पत्रकारहरूसँगको संवादमा भने, 'हिजो दुई ठूला दल मिलेर सरकार बनाएका थिए। उनीहरूको एउटै स्वर थियो–मुलुकलाई निकास दिने। तर खै ? संविधान संशोधन गरेर भएपनि आर्थिक विकास गर्नु पर्थ्यो। गठबन्धनले त्यसो गरेन। ट्रान्सपारेन्सी इन्टरनेशनलको रिपोर्टले नेपाललाई भ्रष्ट मुलुकको सूचीमा राखेको छ। नेपाल अहिले मान्छे बेचविखन गर्ने मुलुकको सूचीमा पनि परेको छ। विदेश जान भिषा पाउन गाह्रो भएको अवस्था छ।'
नेपाल प्रहरीका पूर्व महानिरीक्षक समेत रहेका खनालले पार्टीको गठन समग्र नेपालको सुरक्षा, विकास र लोकतान्त्रिक मूल्य स्थापनाको उद्देश्यले गरिएको बताए। उनका अनुसार वर्तमान राजनीतिक नेतृत्व स्वार्थमा केन्द्रित भएको र जनताको अपेक्षालाई मध्यनजर नगरेको छ।
खनालले ठूला दलको अकर्मण्यताका कारण देश जर्जर हुँदै गएको र त्यसको प्रतिफल स्वरुप नयाँ राजनीतिक शक्ति उदय भइरहेको बताए। 'ठूला दलले मुलुकलाई सही दिशा देखाउन नसकेपछि नयाँ–नयाँ पार्टी र राजनीतिक शक्ति उदय भैरहेका छन्। यसले जनतालाई विकल्प खोज्न बाध्य पारेको छ। अब जनताले वास्तविक नेतृत्व खोज्ने भएको छ,' उनले भने।
विगतका आन्दोलन र लोकतान्त्रिक प्रक्रियाको समीक्षा गर्दै खनालले भने, 'विभिन्न कालखण्डमा आन्दोलन भए, प्रजातन्त्रदेखि गणतन्त्र स्थापना भयो। तर जनताको मूल्य र मान्यता स्थायित्वमा आएन। विकास र समृद्धिको हिसाबले आज मुलुक दक्षिण एसियामा मात्र होइन, विश्वमै लज्जाजनक स्थिति भोगिरहेको छ। ऋण लिएर कर्मचारीको तलब दिनुपर्ने अवस्था सिर्जना भयो। यो सबै ठूला दलको अकर्मण्यताको प्रतिफल हो।'
खनालले संविधान निर्माणमा नेपालले विश्वकै उत्कृष्ट नमूना प्रस्तुत गरेको तर कार्यान्वयनमा नेताहरू असक्षम र स्वार्थी रहेको टिप्पणी गरे। उनले भने, 'संविधान उत्कृष्ट भए पनि कार्यान्वयनमा क्षमता र ईमान्दारी आवश्यक छ। नेताहरूले सधैं आफ्नो शासन सृजना गर्न खोजे। जसको परिणाम जेनजी आन्दोलनले देखाइदियो। तर नेताहरूको चेत अझै खुलेको छैन।'
उनले वर्तमान राजनीतिक अस्थिरता, आर्थिक कमजोरी, भ्रष्टाचार, बाह्य निर्भरता र सामाजिक असमानताको उदाहरणसमेत उल्लेख गर्दै नयाँ राजनीतिक शक्ति उदयको आवश्यकता औँल्याए। 

सम्बन्धित समाचार