२०८३ आश्विन १७ गते , शनिबार

संकटग्रस्त क्षेत्र इलामका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

sajilo news
परिवेश मिडिया
२०८२ पौष ८ गते , मंगलबार
संकटग्रस्त क्षेत्र इलामका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

बिर्तामोड । गत असोज १८ र १९ गते आएको अविरल बर्षाका कारण क्षतिग्रस्त इलाम जिल्लाका सडक तथा पुलहरूको पुननिर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित भएको छ । अर्थ मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै उक्त स्रोत सुनिश्चित गरेको हो ।

सडक डिभिजन इलामका इन्जिनियर पवन भट्टराईका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा सडक डिभिजन कार्यालय, इलाम अन्तर्गतका योजनाका लागि मन्त्रालयले कुल २ अर्ब १९ करोडको स्रोत सुनिश्चितता दिएको भए पनि चालु वर्षलाई ५४ करोड रुपैयाँ मात्र रकमान्तर गरी निकासा गर्ने भएको छ ।

स्रोत सुनिश्चितता भएकोमध्ये मेची राजमार्ग मर्मतका लागि सबैभन्दा बढी १ अर्ब ५० करोड रुपैयाँ छ । यो राजमार्ग मर्मतका लागि चालु आर्थिक वर्षमा ७५ करोड आवश्यक भएपनि २५ करोड निकासा गर्ने भएको छ । यसैगरी माइखोला पुल, राजदुवाली (मेची राजमार्ग)मा पर्ने स्थायी मोटरवेल पुल निर्माणका लागि २० करोडको स्रोत सुनिश्चित भएकोमा ५ करोड निकासा गर्ने भएको छ ।

माइखोला पुल, बेलासे (मेची कोरिडोर)का लागि २५ करोडको लागत अनुमान गरिएको यस पुलका लागि १० करोड निकासा गर्ने भएको छ ।

 त्यसैगरी पुवाखोला पुलको स्थानमा बेलिब्रिज निर्माणका लागि आवश्यक ५ करोड रुपैयाँ, जोगमाईखोलामा बेलिब्रिज निर्माणका लागि पनि आवश्यक ५ करोड रुपैयाँ, मेची कोरिडोर (वैकल्पिक सडक) निर्माणका लागि १४ करोडको लागत अनुमान गरिएकोमा ४ करोड निकासा गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका क्षतिग्रस्त संरचनाका लागि १० अर्ब ६८ करोड रुपैयाँ माग गरेको थियो । तर हाललाई संकटग्रस्त घोषित इलामका लागि मात्र प्राथमिकताका साथ बजेट व्यवस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस अघि विभिन्न संघसंस्थाले संकटग्रस्त क्षेत्रको अवधि सकिन लाग्दा समेत स्रोत सुनिश्चितता नभएको भन्दै आन्दोलन गर्दै आएका थिए ।

 

सम्बन्धित समाचार