नाबालिकलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ
बिर्तामोड । दुई जना नाबालिकलाई जबर्जस्ती करणी गरेको आरोपमा भद्रपुरका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २१ को अक्षय सापकोटा र भद्रपुर नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २३ को बिबेक राई रहेका छन् ।
दुवै जना नाबालिकहरु मंसिर २७ गते घरबाट हराई बेपत्ता भएको र त्यसको भोलिपल्ट आफन्तले फेला पारी सोधपुछ गर्दा आफुहरुलाई जबर्जस्ती करणी गरेको बताएको आफन्तलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
राई र सापकोटाले मंसिर २८ गते भद्रपुर बजारमा मेला घुम्ने क्रममा साङ्केतिक नाम ब–१ र भ–१ का दुई नाबालिकलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सापकोटाको घरमा लगेर सापकोटाले १५ बर्षीया ब–१ र राईले १३ बर्षीया भ–१ लाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
राईलाई पुष १ गते र सापकोटालाई पुष २ गते पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।