एकपक्षीय प्रतिनिधि मनोनित गरेको भन्दै पोखरेल समूहको आपत्ति
झापा । नेकपा एमालेको ११औँ महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीमा शुरु भएको छ । महाधिवेशनमा केपी ओली र इश्वर पोखरेल समूह नेतृत्वको रस्साकस्सीमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ ।
शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आपत्ति जनाएको हो ।
पोखरेल समूहका पत्रकार राजेश राईले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार ईश्वर पोखरेल समूहले गम्भीर असहमति जनाएको बताएका छन् ।
‘हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो’, राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर उक्त सहमति विपरीत एक पक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको छ ।’