जेनजी मिराज ढुंगाना नेतृत्वको अभियानले माग्यो प्रधानमन्त्रीको राजिनामा
झापा । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देऊ’ अभियानका एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन् ।
अभियानले जेनजीको बलबाट प्रधानमन्त्री बनेको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेनजीकै मागहरूलाई बेवास्ता गरी चुनावको मात्र रटान लगाएको आरोप लगाएको छ ।
विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएको यस अभियानले सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएको छ ।
गरिखान देऊ अभियानका मुख्य मागहरू : ः
हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गरिनुपर्ने ।
स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने ।
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनुपर्ने ।
जेन जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनुपर्ने ।
सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गरिनुपर्ने ।
भदौ २३ र २४ को घटना (शान्तिपूर्ण आन्दोलनमा भएको दमन र घटना) को निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्ने ।
जेनजी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गरी विधिको शासन कायम गरिनुपर्ने ।
प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा पछाडि धकेलेको भन्दै प्रदेश सरकारको अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गरिनुपर्ने ।
माथिका कुराहरू संविधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग्नुपर्ने ।