‘सुन किन्ने’ प्रस्तावले गयो सरोजको ज्यान, भाग्दा भाग्दै समातिए अभियुक्त
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३३ बर्षीय सरोज शर्माले ‘सुन किन्ने’ भनि गरेको प्रस्तावले उनको ज्यान लिएको पाइएको छ । शर्माले अभियुक्त सुनिल साहलाई आफुले सस्तोमा पाए सुन किन्ने र सुन खोज्न भनि साहलाई गरेको प्रस्ताव नै उनको मृत्युको कारण बनेको पाइएको हो ।
जब शर्माले आफु सुन किन्ने र सुन खोज्न सुनिललाई प्रस्ताव गरे पछि सुनिलले शर्मासँग भएको पैसा हत्याउने योजना बनाए । काठमाण्डौमा काम गर्दै आएका शर्मा चाड मनाउन घर आएका बेला करिब १ महिना अघि सुनिललाई आफ्नो योजना सुनाएका थिए । जब सुनिलले सरोजको योजना सुने त्यसपछि उनको दिमागमा अपराधिक योजना बनेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार सरोजसँँग भएको पैसा हत्याउने सुनिलको योजना हत्यासम्म पुगेको हो । पहिले सरोजसँग भएको पैसा लुट्ने र उनलाई अपहरण गरी भारतमा लगेर आफन्तको घरमा राखि परिवारसँग करोडौँ फिरौती असुल्ने योजना सुनिलले बनाएका थिए ।
यस्तो छ घटना विवरण :
कात्तिक ९ गते : सुनिल साहले सरोज शर्मालाई आफुले सुन ल्याएर राखेको भन्दै हेर्नलाई अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा साँझ करिब ५ः३० बजे ललाईफकाई बोलाउँछन् । सरोज बागमती प्रदेश ०१–०३० च ७१९४ नम्बरको कारमा सो स्थानमा जान्छन् । शर्मा सुन छ भनिएको स्थानमा पुगेपछि २७ बर्षीय साह र नातामा उनको भाञ्जा पर्ने २३ बर्षीय राहुल साहले हथौडाले प्रहार गरि दहिझोडा सामुदायिक वनमा सरोजको हत्या गर्छन् । सरोजको हत्या पश्चात उनको शव मृतककै गाडीमा भारत लगेर व्यवस्थापन गर्ने योजना बनाएपनि सफल नभएपछि राहुलको चिनजानका भारतीय नागरिकको सहयोगमा शव विरिङ पुलमा गाडेर उनीहरु फर्कन्छन् । शव व्यवस्थापन पश्चात हत्या गरेको स्थानमा मृतकको गाडी लगेर बिग्रिएको जस्तो देखाउन सो रात र भोलिपल्ट दिनभर सेउलाले छोपेर गाडी जंगलमै राख्छन् र अभियुक्तहरु बा ९ च २६९ नम्बरको गाडीमा फर्किन्छन् ।
कात्तिक १० गते : दिउँसो गाडी भएको स्थान दहिझोडा सामुदायिक वनमा जान्छन् र मृतकको गाडी माइस्थित कोटिहवन नजिकैको जंगलको बिच भागमा लगेर लुकाउँछन् ।
कात्तिक १३ गते : सुनिल साहले मृतकको गाडी भित्री सडक प्रयोग गरी अर्जुनधारा–सालबारी–चारआली हुँदै मेचीनगर–१३ स्थित चन्द्रगढी सडक खण्डको निचाझोडा सामुदायिक वन भित्र लगेर आगो लगाउँछन् । आगो लगाउने क्रममा सुनिलको दुवै हातमा आगोले पोलेको पाइएकोछ । सो स्थानमा सुनिलको एउटा चप्पलसमेत छुट्छ ।
कात्तिक १४ गते : भारतस्थित आफन्तकोमा गएर लुक्ने योजना बनाएर भाग्दै गरेको अवस्थामा सुनिल विराटनगरस्थित नेपाल– भारत सीमावर्ती क्षेत्र रानीबाट पक्राउ पर्दछन् भने अर्का अभियुक्त राहुल आफ्नै घर शिवसताक्षी नगरपालिका–१० माईधारबाट पक्राउ पर्दछन् ।
कात्तिक १५ गते : पक्राउ परेका अभियुक्तको बयानका आधारमा प्रहरीले १५ गते विहानको राति १ बजे शव गाडिएको स्थान पहिचान गर्दछ र बिहान शव निकालेर पोष्टमार्टमका लागि पठाउँछ ।
अभियुक्तसम्म कसरी पुग्यो प्रहरी ?
सरोज शर्मा हराइरहेको उजुरी प्राप्त भएपछि प्रहरी उनको खोजी कार्यमा अगाडीबाटै जुटिरहेको प्रहरीले हातेमालो सामुदायिक वनमा जलेको अवस्थामा खाली गाडी भेटिएपछि शर्माको हुन सक्ने आशंका गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्का बताउँछन् । जलेको गाडी नजिकै एउटा चप्पल भेटिएपछि मृतकका छरछिमेकीसँग सोधपुछ गर्ने क्रममा उक्त चप्पल सुनिलको हो भन्ने पहिचान हुन्छ । सुनिलको चप्पल पहिचान भएपछि प्रहरी उनको मोबाइलको प्राविधिक विश्लेषण गर्ने क्रममा अभियुक्त साह भएको स्थानसम्म पुगेको डीएसपी खड्काले बताए ।
अभियुक्तहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । हत्यामा संलग्न एक जना भारतीय नागरिकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई अपहरण, अपराधिक प्रवेश तथा अपराधिक उपद्रव, शरीर बन्दक, कर्तब्य ज्यान कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको खड्काले बताए ।